जापानका लागि दक्ष श्रमिक उत्पादन गर्न हार्भेष्ट मुनद्धारा ‘ग्लोबल स्कील’ तालिम केन्द्र संचालनमा

जापानमा आवश्यक नेपाली श्रमिकहरूलाई जापानी मापदण्डअनुसार दक्ष बनाउने उद्देश्यले हार्भेष्ट मुन ग्रुप अफ कम्पनिजले काठमाडौंको गैरीधारामा ‘ग्लोबल स्कील प्रा.लि.’ नामक अत्याधुनिक तालिम केन्द्र सञ्चालनमा ल्याएको छ।

यो तालिम केन्द्र जापानको ‘नेपजिल वर्कर सपोर्ट अर्गनाइजेशन (NWSO)’ सँगको समन्वयमा स्थापना गरिएको हो। आइतबार आयोजित उद्घाटन समारोहमा जापानको सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरो द्वारा उद्घाटन गरिएको थियो। कार्यक्रममा NWSO का अध्यक्षसहित विभिन्न जापानी कम्पनीका उच्च पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उद्घाटनपछि NWSO का अध्यक्ष यामानो शिनइचिरोले जापानमा नेपाली श्रमिकहरूको माग वृद्धि गर्न आफूहरू निरन्तर क्रियाशील रहेको बताए। उनले २०१६ देखि जापानी कम्पनीहरूलाई नेपाल चिनाउने, नेपाली श्रमिकहरूका लागि आकर्षक अवसरहरू सिर्जना गर्ने तथा जापानमा समस्यामा परेका श्रमिकहरूलाई सहयोग पुर्‍याउने कार्यमा NWSO संलग्न रहेको उल्लेख गरे। आगामी तीन वर्षमा दश हजार र पाँच वर्ष भित्र एक लाख नेपाली श्रमिकका लागि रोजगारीको अवसर ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

जापानमा स्याहार क्षेत्रमा कार्यरत आइएमजी कम्पनि की अध्यक्ष मारिको यासुईले जापानमा वृद्धजनसंख्या वृद्धि भएकाले केयर वर्करहरूको ठूलो माग रहेको बताइन्। जापानी भाषाको ज्ञान श्रमिकहरूका लागि अनिवार्य रहेको उल्लेख गर्दै उनले सन् २०२५ को अप्रिलबाट जापान सरकारले घर-घरमा हेरचाह सेवा दिने नयाँ रोजगारी अवसर घोषणा गरेको र यो क्षेत्र नेपाली श्रमिकहरूका लागि निकै आकर्षक हुन सक्ने बताइन्।

सुनागु होल्डिङ जापानका अध्यक्ष सकागुची ताकेहिरो ले जापानमा श्रमिकहरूलाई दक्षताका आधारमा आकर्षक अवसर प्रदान गरिने र स्वदेश फर्किएपछि उनीहरूलाई उद्यमशीलता वा रोजगारी सिर्जना गर्न मद्दत गरिने बताए। यसका लागि हार्भेष्ट मुन ग्रुपसँग सहकार्य थालिएको जानकारी उनले गराए।

हार्भेष्ट मुन ग्रुप अफ कम्पनिजका अध्यक्ष राम श्रेष्ठले आफ्नो कम्पनीले वैदेशिक रोजगारीका लागि पारदर्शी तथा व्यवस्थित भर्ना प्रक्रिया अवलम्बन गर्दै आएको र जापानमा काम गर्न जाने श्रमिकहरूलाई सम्भव भएसम्म निःशुल्क वा न्यून शुल्कमा पठाउने लक्ष्य रहेको बताए।

ग्लोबल स्कील तालिम केन्द्रले जापानमा आवश्यक पर्ने सीप र जापानी भाषा तालिम प्रदान गर्ने जानकारी दिएको छ। ‘टेक्निकल इन्टर्न ट्रेनिङ (TIT) र स्पेसिफिक स्कील्ड वर्कर (SSW)’ कार्यक्रमअन्तर्गत जापान जाने श्रमिकहरूले ग्लोबल स्कील प्रा.लि. बाट तालिम लिन सक्ने बताइएको छ । केन्द्रमा तालिमका लागि जापानी मापदण्ड अनुसारका कक्षा कोठा तथा तालिम सामाग्रीहरुको व्यवस्थापन गरिएको छ ।

सम्बन्धित समाचार