श्रम स्वीकृतिबिनै यात्रुलाई कुवेत उडान अनुमति दिएको घटनामा रकम लेनदेनको आशंका देखिएपछि त्रिभुवन विमानस्थलका एक अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइएका छन्।
अध्यागमन विभागले असोज ५ गते कुवेत जान विमानस्थल पुगेका ती यात्रुको श्रम स्वीकृति नभएको अवस्थामा समेत प्रस्थान अनुमति दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
विभागको नेपाली पोर्ट प्रणाली तथा विमानस्थलको सीसीटीभी फुटेजको अध्ययन गर्दा ती यात्रु बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको देखिएको छ। श्रम स्वीकृति नभएको अवस्थामा उनी अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको र सो क्रममा तेस्रो व्यक्तिसँग समेत सम्पर्क भएको देखिएको विभागले जनाएको छ।
त्यसपश्चात बिहान करिब ७ः१० बजे उनलाई प्रस्थान अनुमति दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तर, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीबाट प्राप्त विवरणअनुसार ती यात्रु उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको देखिएको छ। यसले प्रस्थान अनुमति दिइएको समयमा यात्रुको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको देखिएको विभागको प्रारम्भिक निष्कर्ष छ।
अनुसन्धानका क्रममा ती यात्रु र जापानमा रहेका एक व्यक्तिबीच रकमसम्बन्धी कारोबार भएको समेत देखिएको विभागले जनाएको छ। उक्त कारोबारको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत एक जना अध्यागमन अधिकृतको संलग्नता हुन सक्ने भन्दै उनलाई असोज ६ गतेदेखि नै जिम्मेवारीबाट अलग गरी विभागमा फिर्ता बोलाएको छ।
घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्पूर्ण विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा सिफारिस गरी पठाइएको विभागले जनाएको छ।