युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ अन्तर्गत विभिन्न रोजगारदाता कम्पनीमा ६६ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन्। मेलामा ४ हजार ५२५ जना सहभागीले रोजगारीका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ।
‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नारासहित असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने मेलाका गतिविधिबारे मन्त्रालयले सार्वजनिक गरेको दैनिक कार्यको जानकारीअनुसार रोजगारदाता कम्पनीहरूमा गरिएको छनोट प्रक्रियाबाट ६६ जना रोजगारीका लागि छनोट भएका हुन्।
विभिन्न कम्पनीमा रोजगारीका लागि छनोट
मेलाअन्तर्गत सुरक्षा गार्डतर्फ सुदर्शन सेक्युरिटी कम्पनीमा २१ जनाको अन्तर्वार्ताबाट ९ जना छनोट भएका छन्। त्यसैगरी, भाटभटेनी सुपरमार्केटमा ३६ जनाको अन्तर्वार्ताबाट १८ जना, रिलायन्स स्पिनिङ मिल्समा २९ जनाको अन्तर्वार्ताबाट १७ जना र चौधरी ग्रुपमा १० जनाको अन्तर्वार्ताबाट ५ जना छनोट भएका छन्।
त्यस्तै, एसियन फुड्समा ७ जनाको अन्तर्वार्ताबाट १ जना तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघमार्फत ९ जनाको अन्तर्वार्ताबाट ५ जना छनोट भएका छन्।
यसैगरी, मिति २०८३ असोज १६ गते ११ जना र असोज १७ गते ५५ जना गरी थप ६६ जनाले रोजगारीको अवसर प्राप्त गरेको मन्त्रालयको विवरणमा उल्लेख छ।
२२० जना सीपमूलक तालिममा सहभागी
मेलाअन्तर्गत १० वटा विधामा सञ्चालन गरिएका छोटो अवधिका सीपमूलक तालिममा कुल २२० जना सहभागी भएका छन्। साथै, ओपन एआईसम्बन्धी तालिममा १०५ जनाले सहभागिता जनाएका छन्।
रोजगार र सीप विकासमा जोड
मेलामा नेपालको श्रम बजार प्रवर्द्धनका लागि सीपयुक्त जनशक्ति निर्माण र दीर्घकालीन उपयोगसम्बन्धी नीतिगत संवाद पनि आयोजना गरिएको थियो। उक्त प्यानल छलफलमा ४०० जनाको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।
‘करियर उडान’ कार्यक्रमअन्तर्गत आईटी क्षेत्रका विज्ञ दीपेन चापागाईं र विभूषण बिष्टधराले आफ्नो अनुभव साझा गर्दै नेपालमै आईटी क्षेत्रमा ठूला अवसर र सम्भावना रहेको सन्देश दिएका थिए।
यसैगरी, करियर काउन्सेलिङ सेवाअन्तर्गत ४७ जनाले परामर्श प्राप्त गरेका छन्।
मन्त्रालयको विवरणअनुसार jobfair.shramsansar.gov.np मार्फत हालसम्म कुल ५ हजार ५३३ जना रोजगारदाता दर्ता भएका छन् भने ६ हजार ६१२ जना रोजगार खोजकर्ता सूचीकृत भएका छन्। पोर्टलमा ४४२ वटा पद प्रकाशित भएका छन् र ६ हजार ५५० वटा रिक्त पद रहेको उल्लेख छ।
सीप विकास, करियर परामर्श र रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसरमार्फत युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले मेला सञ्चालन भइरहेको छ।