क्यामेराको अगाडि उभिएर संसारलाई आफ्नो इसारामा नाच्न लगाउने मान्छेहरूको कथा त धेरै सुनिन्छ, तर त्यो लेन्स पछाडि बसेर संसारलाई उज्यालो र जीवन्त बनाउने आँखाहरूको कथा भने प्रायः ओझेलमै पर्छ। बिनोद कार्की — जसलाई धेरैले मायाले ‘बौद्धली भान्जा’ भनेर चिन्छन् — तिनै ओझेलका एक अनवरत यात्री हुन्।

बिहानको कलिलो घामसँगै फ्रेम मिलाउन हिँड्ने र साँझको धमिलो प्रकाशसम्म दृश्य पक्रिन तम्सिने उनको यो २५ वर्ष लामो यात्रा केवल लेन्स र ट्राइपोडको सम्बन्ध मात्र होइन; यो त अथक साधना, समर्पण र जीवनप्रतिको गहिरो दर्शनको कथा हो।
२०५८ सालतिर काठमाण्डौमा युम्याटिक र बेटा क्यामको युग थियो । क्यामेरा असाँध्यै महङगो थियो । नेपाल टेलिभिजन वा एकाध प्रोडक्सन हाउसमा मात्र देखि त्यो भारी क्यामेरा समाउन पाउनु मात्र पनि बिनोदको आफैमा एउटा सपना थियो ।
बिनोदले क्यामेराको दुनियाँमा पाइला टेक्दा उनी ‘असिस्टेन्टको पनि असिस्टेन्ट’ थिए। सिम्फोनिक रेकडिङ स्टुडियोले डिभि क्याम फरम्याटको क्यामेरा भित्र्याएपछि बिनोदले क्यामेरा केयर टेकरको रुपमा काम पाए । उनको क्यामेरा समाउने धोको पुरा भएपनि उनको काम भने — बिहानै क्यामेरा र ट्राइपोड बोकेर सुटिङ स्पटमा पुग्नु, लेन्सका धुलो पुछ्नु, तारहरू बेर्नु र ठुला क्यामेराम्यानहरूले ‘रोल’ र ‘कट’ भनेको टुलटुलु हेरेर सिक्नु।
“त्यतिबेला क्यामेराम्यान बन्न १० वर्षको कठोर तपस्या चाहिन्थ्यो। क्यामेराको भ्युफाइन्डरमा आँखा लगाउनु भनेको कुनै ठुलो नियम तोड्नु जस्तै थियो — गल्तीले हेरियो भने फाइनसम्म तिरिन्थ्यो! तर त्यही कडा अनुशासन र आँखै-आँखाको सिकाइले मलाई भित्री रुपमा पोख्त बनायो।”
३,००० म्युजिक भिडियो र सपनाको क्षितिज
समय बदलियो। युम्याटिकबाट बेटा र डिजिटल युगतिर क्यामेरा मोडिएसँगै बिनोद कार्कीको हातमा पनि क्यामेरा आयो। उनी केवल ‘सहायक’ रहेनन्, दृश्यका सिर्जनाकार बने।
३,००० भन्दा बढी म्युजिक भिडियोहरू,वृतचित्र, विज्ञापन! दर्जनाँै ठुला पर्दाका चलचित्रहरू!
ग्ल्यामर, प्रकाश, छाया र सङ्गीतको सङ्गममा उनी वर्षौँ रमे। तर सेटको झिलिमिली र पैसाको सन्तुष्टिपछाडि उनको मनमा एउटा हुटहुटी जहिले जागिरहन्थ्यो — “मेरो बौद्धिकता खै?”
पत्रकारिताका विद्यार्थी बिनोदलाई सधैँ लाग्थ्यो, दृश्यहरू केवल रमाइलोका लागि मात्र हुनुहुँदैन, तिनले समाजको कुनै न कुनै सत्य बोल्नुपर्छ। त्यही खोजले उनलाई ग्ल्यामरको दुनियाँबाट अलि पर डकुमेन्ट्री र फोटो-पत्रकारिताको गहिरो सागरतिर डोऱ्यायो।
जीवन फेर्ने एउटा ‘दृश्य’
संयुक्त राष्ट्रसङ्घ (UN) को नागरिकतासम्बन्धी एउटा प्रोजेक्टका लागि उनी दुई वर्षसम्म नेपालका दूरदराज गाउँहरू घुमे।
दुर्गम गाउँका कुनाकाप्चा, जहाँ पिउने पानीको थोपासम्म मुस्किलले भेटिन्थ्यो, त्यहाँ पुगेर उनले नागरिकता नपाएर परिचयविहीन बनेका नागरिकहरूको पीडा आफ्नो क्यामेरामा कैद गरे। उनले जोखिम मोलेर स्टिङ अपरेसन गरे, सिडिओ कार्यालय र आर्मी क्याम्पभित्रका वास्तविकताहरू लेन्समा उध्रिए।
वर्षौँपछि, तीमध्येका एक व्यक्तिको छोराको विवाहमा निम्तो आउँदा उनले भावुक हुदै बिनोदलाई भनेका थिए, “भाइ, तिमीले त्यो दिन खिचिदिएको भिडियोकै कारण आज हाम्रो नागरिकता बन्यो। हामीले मान्छे हुनुको परिचय पायौँ।”
LGBTIQ+ को हक अधिकारको आन्दोलनमा पनि बिनोदले आफ्नै कथा जस्तै गरेर उनीहरुलाई सघाएका थिए । सुनिलबाबु पन्त र भुमिका श्रेष्ठ दुबै सासंद भइसकेका छन् ।
बिनोदका लागि जीवनको सबैभन्दा ठुलो अवार्ड त्यही नै थियो। क्यामेरा केवल एउटा यन्त्र मात्र होइन, कसैको खोसिएको पहिचान फिर्ता ल्याउने एउटा शक्तिशाली हतियार पनि हुन सक्छ भन्ने उनले महसुस गरे।

९ चोटीको असफलता र जीवनको नयाँ क्यानभास
मान्छेको जीवन सोचेजस्तै सीधा रेखामा कहाँ हिँड्छ र?
मिडियाकर्मी बन्दाबन्दै उनलाई निजामती सेवामा गएर देशको सेवा गर्ने रहर जाग्यो। I.A. र Bachelor’s सिद्ध्याएपछि उनले लोकसेवा आयोगको परीक्षा दिन थाले।
हुलाक, प्रशासन अधिकृत — उनले एकपटक होइन, दुईपटक होइन, लगातार ९ पटकसम्म लोकसेवा परीक्षाको ढोका ढक्ढक्याए! तर सफलता हात लागेन।
“नौ पटकको प्रयास सफल भएन। तर त्यसले मलाई थकाएन, बरु क्यामेराप्रति अझ बढी निष्ठावान् बनायो। म बुझेँ — मेरो वास्तविक लोकसेवा त मेरो क्यामेरामार्फत नै भइरहेको रहेछ!”
५० को डाँडाबाट हेर्दा: अनुभव र नयाँ चुनौती
हिजो २५ वर्षको उमेरमा छातीमा क्यामेरा भिरेर डाँडाकाँडा कुद्ने बिनोद आज जीवनको ५० औँ वसन्त पार गरिसकेका छन्।
उमेरसँगै आँखाहरू अलि गम्भीर बनेका छन्, र जिम्मेवारीहरू झन् भारी। श्रीमान्, बुबा र परिवारको अभिभावक बनिसकेपछि जीवनको हिसाबकिताब पनि फेरिँदो रहेछ।

हिजो साथीहरूसँग एकैछिनमा हजारौँ रुपैयाँ उढाउन सक्ने बिनोद आज रु. ४०० को खाजा खाँदा पनि सोच्छन् — “यो पैसाले त परिवारका सबैजना बसेर सँगै खाएको भए कति राम्रो हुन्थ्यो होला!” यो मुटु खुम्च्याउने यथार्थ केवल बिनोदको मात्र होइन, हरेक जिम्मेवार नेपाली अभिभावकको भोगाइ हो।
अर्कोतिर, प्रविधिले कोल्टो फेरेको छ। भारी युम्याटिक क्यामेरा बोक्ने जमानाबाट आज ड्रोन, मोसन ग्राफिक्स, डिजिटल एडिटिङ र एआई (AI) को युग आइसकेको छ। पुराना ढर्राका धेरै साथीहरू पछाडि छुटिसके, तर बिनोद हार्न तयार छैनन्।
कथाको मर्म: अझै १५ वर्षको ऊर्जा
बिनोद कार्की युवा पुस्तालाई देखेर गुनासो गर्दैनन्, बरु तिनीहरूसँगै प्रतिस्पर्धा गर्न नयाँ प्रविधि सिक्न तम्सिन्छन्।
“म पुरानो ढर्राको क्यामेराम्यान हुँ भनेर बस्ने छुट मलाई छैन। नयाँ प्रविधिसँगै दौडिनुपर्छ। म अझै थाकेको छैन, अझै १५ वर्ष त म सक्रिय भएर दृश्यहरूसँगै जिउँछु र जिउनुपर्छ!”
बिनोद कार्कीको यो २४-२५ वर्षको यात्रा केवल एउटा क्यामेराम्यानको व्यक्तिगत कथा मात्र होइन। यो त नेपाली मिडिया र फिल्म जगत्को प्रविधिगत परिवर्तनको इतिहास हो। यो असफलताबाट नभाग्ने एउटा अडिग योद्धाको कथा हो, र दृश्यहरूमार्फत कसैको जीवन उज्यालो बनाउन सकिन्छ भन्ने सुन्दर मानवीय भावनाको जीवन्त उदाहरण हो।
You must be logged in to post a comment.