सेवा निवृत्त ६५ नागरिक ‘सिल्भर भोलेन्टियर’ कार्यक्रम अन्तर्गत महानगरको सेवामा

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले “सिल्भर भोलेन्टियर” कार्यक्रम सञ्चालन गर्ने भएको छ, जसमा सेवा निवृत्त ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनभरको ज्ञान, सिप र अनुभव प्रयोग गर्दै समाजसेवामा योगदान दिनेछन्।
महानगरको सहरी योजना आयोगको पहलमा सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना तथा इन्जिनियरिङजस्ता क्षेत्रका अनुभवी व्यक्ति स्वेच्छिक रूपमा संलग्न हुनेछन्।


कार्यक्रमका लागि सार्वजनिक सूचना प्रकाशित भएपछि ११९ जनाले आवेदन दिएका थिए। तिनीहरूमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरी ६५ जना “सिल्भर भोलेन्टियर” चयन गरिएको सहायक विज्ञ विवेक वास्तोलाले जानकारी दिए।
परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले सेवा निवृत्त जीवनमा आफ्नो सीप र अनुभव समाजको हितका लागि प्रयोग गर्न पाउँदा खुशी व्यक्त गरे।


सहरी योजना आयोगका उपाध्यक्ष तथा सिल्भर भोलेन्टियर परिचालन समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारीले दक्ष र अनुभवी व्यक्तिहरूको सक्रियताले महानगरको सन्तुलित विकासमा देखिने नतिजा ल्याउने विश्वास व्यक्त गरे। समितिका सदस्यहरू वीरेन्द्र प्रजापती, डा. सुरज काफ्ले र सुमन प्रधानले पनि अनुभवी नागरिकहरूको सहभागिताले दिगो विकासमा सहयोग पुग्ने धारणा राखेका थिए।
कार्यक्रम अन्तर्गत प्रत्येक विषयगत समूहले मासिक बैठक गर्ने, अनुभव आदान–प्रदान गर्ने र तीन महिनामा एकपटक सिकाइ र अभ्यास साझा गर्ने व्यवस्था रहेको सहायक विज्ञ सुदिप ढकालले जानकारी दिए।


महानगरले यस कार्यक्रममार्फत सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, वातावरण व्यवस्थापन, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापनलगायत क्षेत्रमा ज्येष्ठ नागरिकको सक्रिय योगदान सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार