अटिजम भएकी मेरुन भट्टाराई विगत दुई वर्षदेखि Autism Care Nepal Society मा कर्मचारीका रूपमा कार्यरत छिन्। आफ्नो रुचि र क्षमताअनुसारको काम गर्ने अवसर पाएपछि उनी संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै अघि बढिरहेकी छन्।
सोसाइटीको grocery section व्यवस्थापन मेरुनको मुख्य जिम्मेवारी हो। दैनिक बिक्री भएका सामानको रेकर्ड राख्ने, हिसाब गर्ने तथा आवश्यकताअनुसार सामान व्यवस्थापन गर्ने काम उनी नियमित रूपमा गर्छिन्। आफ्नो जिम्मेवारीप्रति उनी निकै लगनशील र अनुशासित रहेको सोसाइटीले जनाएको छ।
मेरुनको क्षमता भने उनको नियमित काममा मात्र सीमित छैन। नेपाली र इस्वी संवत्का मिति रूपान्तरणमा पनि उनी दक्ष छिन्। वि.सं. २०५८ देखि २०८३ सालसम्मका नेपाली मितिलाई इस्वी सम्बत तथा इस्वी सम्बत मितिलाई नेपाली मितिमा रूपान्तरण गर्न सक्ने क्षमता उनको विशेष दक्षतामध्ये एक हो।
संगीतमा पनि उनको विशेष रुचि छ। गीत–संगीत सुन्ने र त्यसमा रमाउने उनको रुचि छ।
संस्थाभित्रका अन्य जिम्मेवारीमा पनि मेरुन सक्रिय छिन्। प्रशिक्षार्थीहरूले तयार गरेका असाइनमेन्ट संकलन गरी विशेष शिक्षकसम्म पुर्याउने काम उनी गर्छिन्। त्यस्तै, डिप्लोमा तहका प्रशिक्षार्थीहरूको परीक्षामा उनले निरीक्षकको भूमिकासमेत निर्वाह गर्दै आएकी छन्।
मेरुनको कार्यअनुभवले अटिजम भएका व्यक्तिहरूलाई उनीहरूको रुचि, क्षमता र आवश्यकताअनुसार कामको अवसर र जिम्मेवारी दिन सकिएमा उनीहरू पनि कार्यस्थलमा प्रभावकारी रूपमा योगदान गर्न सक्छन् भन्ने देखाउँछ।
अवसर पाएपछि क्षमता देखाउन सकिन्छ भन्ने उदाहरण बनेकी मेरुन अहिले आफ्ना जिम्मेवारी पूरा गर्दै आत्मनिर्भरतातर्फ अघि बढिरहेकी छन्। उनको यात्रा अटिजम भएका युवाका लागि रोजगारी र आत्मनिर्भरताका अवसर सिर्जना गर्नुपर्ने आवश्यकतालाई पनि उजागर गर्छ।