इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म सात दिने ‘सीप तथा रोजगार मेला २०८३’ आयोजना हुने भएको छ। मेलाको तयारीबारे युवा, श्रम तथा रोजगार मन्त्रालयले आज मन्त्रालयको सभा हलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मेलामा प्रवेश गर्ने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र पहिल्याउन सक्ने वातावरण बनाउने उद्देश्य रहेको बताउनुभयो।
“मेलामा छिर्ने प्रत्येक युवा बाहिर निस्कँदा आफ्ना सम्भावनाप्रति स्पष्ट, आशावादी र नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ निस्कने वातावरण बनाइनेछ,” मन्त्री यादवले भन्नुभयो।
मन्त्री यादवका अनुसार श्रम बजारमा रोजगारदाताले उपयुक्त कामदार नपाउने र रोजगारी खोज्नेले उपयुक्त रोजगारदाता नभेट्ने ‘मिसम्याच’ समस्या समाधान गर्न रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई एउटै एकीकृत मञ्चमा जोडिनेछ।
‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाको उद्देश्य स्वदेशमै सम्मानजनक रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्नुका साथै श्रम बजारको मागअनुसार दक्ष जनशक्ति तयार गर्नु रहेको मन्त्रालयले जनाएको छ।
नेपाल सरकारको **आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’**का रूपमा अघि बढाउने नीति तथा कार्यक्रमअनुसार मेला आयोजना गर्न लागिएको हो। सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत इटहरीमा हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत विभिन्न क्षेत्रका स्टल रहनेछन्।
मेलामा रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीच प्रत्यक्ष संवाद गराई मागअनुसार जब म्याचिङ तथा जब प्लेसमेन्ट गरिनेछ। त्यस्तै, बजारमा उच्च माग रहेका एआई, ईभी, एसी रिपेयरिङलगायत विषयमा छोटो अवधिका सीपमूलक तालिम, करियर काउन्सिलिङ तथा उत्प्रेरणात्मक सत्र सञ्चालन गरिनेछ।
मेलालाई व्यवस्थित र पारदर्शी बनाउन jobfair.shramsansar.gov.np डिजिटल पोर्टलसमेत सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। पोर्टलमार्फत कोशी प्रदेशका १३७ वटै स्थानीय तहका रोजगार संयोजक, रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिले आधिकारिक विवरण दर्ता गरी सेवा लिन सक्नेछन्।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षभित्र देशभरका कम्तीमा १ लाख युवालाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित प्रधानमन्त्री वालेन्द्र शाहसँग कार्यसम्पादन सम्झौता गरिएको छ। इटहरीबाट सुरु हुने रोजगार मेला क्रमशः देशका बाँकी छ प्रदेशमा समेत सञ्चालन गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइने बताइएको छ।
तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा अन्य सरोकारवालाको सहकार्यमा आयोजना हुन लागेको मेलाले स्वदेशमै युवालाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ।