मलेसियामा नेपाली श्रमिकको भर्ती प्रक्रियामा सिण्डिकेट लागू गर्ने उद्देश्यले मापदण्ड पठाइएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले त्यसको विरोधमा संघर्ष गर्ने घोषणा गरेका छन्।
सोमबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले पत्रकार सम्मेलन गर्दै श्रमिक पठाउने विषयमा नेपालका प्रचलित ऐन–कानुनबाहेक कुनै पनि बाह्य मापदण्ड नमान्ने घोषणा गरेको हो।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजित श्रेष्ठले नेपाली म्यानपावर कम्पनीहरूमा सिण्डिकेट लगाउने खेलमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का संलग्न रहेको आरोप लगाए। उनले खड्काले यस विषयमा अत्यधिक हस्तक्षेप गरे कडा भौतिक कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि दिए।
मलेसियाले श्रमिक पठाउने कम्पनीहरूको छनोटका लागि पठाएको १० बुँदे मापदण्ड तत्कालै असान्दर्भिक भन्दै फिर्ता पठाउनुपर्नेमा व्यवसायीहरू एकमत देखिए। उनीहरूको भनाइमा, श्रमिक भर्ना प्रक्रियालाई पारदर्शी बनाउने नाममा केही सीमित व्यवसायीमार्फत श्रमिकमाथि अनावश्यक भार थोपर्ने प्रयास गरिएको छ।
व्यवसायीहरूले कुनै पनि हालतमा सो मापदण्ड स्वीकार नगर्ने बताउँदै, जरुर परे आफ्नो लाइसेन्स सरकारलाई बुझाएर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।