लामो समयदेखिको आन्तरिक विवाद अन्ततः चरम बिन्दुमा पुगेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ को मौजुदा कार्यसमिति विघटन भएको घोषणा गरिएको छ। कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि संघको विधानअनुसार अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति स्वतः विघटन भएको भन्दै असन्तुष्ट व्यवसायीहरुले नयाँ निर्वाचन गराउन प्रबन्ध समिति गठन गरेका छन् ।
संघको विधानको दफा २६ ९४० मा रहेको राजीनामासम्बन्धी व्यवस्थाअनुसार दुईतिहाइ पदाधिकारीले पदत्याग गरेपछि कार्यसमिति स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार गएरातिदेखि संघको कार्यसमिति विघटन भएको भन्दै विधानको व्यबस्था बमोजिम सल्लाहकारहरूको रोहवरमा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ। उक्त व्यवस्थाअनुसार सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी को संयोजकत्वमा प्रबन्ध समिति गठन गरिएको छ।
समितिमा पूर्व अध्यक्ष विमल ढकाल सहित जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी तथा वरिष्ठ अधिवक्ता शम्भु निरौला सदस्य रहेका छन्।
प्रबन्ध समितिले अब २१ दिनभित्र विशेष साधारणसभा बोलाएर नयाँ नेतृत्व चयन गर्नुपर्नेछ। उता संघका अध्यक्ष भुवनसिंह गुरूङले जिल्ला प्रशासन कार्यालयको आदेश विना आफुले अध्यक्षको जिम्मेवारी नछाड्ने बताएका छन् । आफुसँग बहुमत सदस्यहरु कार्यसमितिमै रहेकाले प्रबन्ध समिति गठनको बाटो अबैधानिक रहेको दाबी गरेका छन् ।