सरकारविरुद्ध म्यानपावर व्यवसायी आक्रामकः भदौ १ देखि श्रमिक नउडाउने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग कार्यान्वयन नभएपछि आन्दोलनलाई थप सशक्त बनाउँदै भदौ १ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिक नउडाउने घोषणा गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघले साउन २२ गतेसम्म श्रम स्वीकृति लिएका श्रमिकहरू भदौ १ गतेभित्र गन्तव्य मुलुक पुगिसक्नुपर्ने जनाएको छ। त्यसपछि नयाँ श्रमिक विदेश नपठाइने संघको निर्णय छ।

संघले आज राति १२ बजेदेखि सरकारी सेवा नलिने र शनिबार सम्बन्धित सरकारी निकायमा म्यानपावर कार्यालयको ताला–चाबी तथा इजाजतपत्र (लाइसेन्स) को प्रमाणित प्रतिलिपि बुझाउने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

संघका अनुसार सरकारले ऐन संशोधनलगायत केही विषयमा सकारात्मक पहल गरे पनि सेवाशुल्क परिमार्जन र हवाई भाडामा लाग्ने भ्याट छुट सम्बन्धी मुख्य मागमा ठोस निर्णय नगरेकाले आन्दोलनलाई कडा बनाइएको हो।

संघले आन्दोलनका निर्णय कार्यान्वयन नगर्ने सदस्य संस्था वा व्यवसायीलाई संघको सदस्यताबाट हटाउने चेतावनी समेत दिएको छ। आन्दोलनलाई सफल बनाउन सबै सदस्यले संघको निर्णय अनिवार्य रूपमा पालना गर्नुपर्ने संघले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार