नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन निर्माण गर्छु भन्ने चुनावी नारा अब सँधैका लागि अन्त्य भएको छ । संघले स्थापनाको ३२ वर्षपछि आफ्नै स्वामित्वको प्रशासनिक भवन खरिद गरेपछि अब नेतृत्वका लागि दावेदारी गर्नेहरुको महत्वपुर्ण एजेण्डा टुङगिएको हो । संघले राजधानीको सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन खरिद गरी त्यहिबाट कार्यालय संचालन शुरु गरिसकेको छ।
संघले ४ करोड ५३ लाख १४ हजारमा भवन खरिद गरेको हो । लामो समय देखि भवन खरिदका लागि चर्चा चलेपनि ठोस पहल हुन सकेको थिएन । सल्लाहकार रघु पुरी र अध्यक्ष राजेन्द्र भण्डारीको विशेष पहलमा भवन खरिद गर्न संघ सफल भएको हो । संघले भवन खरिदका लागि सहयोग गर्ने सम्पूर्ण व्यवसायीसहित सल्लाहकार, भवन खरिद समितिका अग्रज व्यवसायी, संघ कार्यसमिति सदस्य, संघका पूर्वअध्यक्षहरू, विभिन्न संघ संस्थाहरूले सहयोग उपलब्ध गराएका थिए ।