इजरायल–इरान तनावबीच नेपाली दूतावासको चेतावनी: आपतकालीन सम्पर्क नम्बर सार्वजनिक, तर वेबसाइट अद्यावधिक नगरेको गुनासो

इजरायल–इरानबीचको बढ्दो तनावले युद्धको रुप लिइरहेका बेला इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी सतर्कता अपनाउन आग्रह गर्दै आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “हालै इजरायल–इरानको बढ्दो तनाबका कारण भई रहेको युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यान दिँदै यहाँ इजरायलस्थित विभिन्न स्थानहरूमा बसोबास गरिरहनु भएका नेपालीहरूको सुरक्षा र हितको लागि” २४ सैं घण्टा खुल्ला रहने हटलाइनमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

साथै, आपतकालीन अवस्था वा अन्य आवश्यक जानकारीका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ:

१. द्वितीय सचिव: कुमार बहादुर श्रेष्ठ – सम्पर्क नं. +९७२ ५३ ५३६ ०७४८
२. तृतीय सचिव: सन्देश कुमार शाह – सम्पर्क नं. +९७२ ५४ ५५५ ७०७७

दूतावासले आवश्यक जानकारी वा सहायता आवश्यक परेमा तुरुन्तै सम्पर्क गर्न पनि नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ।

यसअघि परराष्ट्र मन्त्रालयले पनि इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धारका लागि फारम भर्ने व्यवस्था गरेको थियो, तर धेरै नेपालीहरुले जानकारी नपाएको र राजदूतावासको वेबसाइटमा यस्ता सूचना नगएको गुनासो पनि गरेका थिए।

यद्यपि नेपाली राजदूतावासको वेबसाइटमा न त कुनै आधिकारिक सूचना अपडेट गरिएको छ, न त द्धन्द्धसम्बन्धी चेतावनी नै। बरु वेबसाइटमा प्रमुख सूचना भन्दै राजदूतले पेस गरेको ओहोदाको प्रमाणपत्र मात्रै प्रकाशित गरिएको छ। यद्यपी दूतावासको फेसबुक फेजबाट भने सूचनाहरु प्रवाह भइरहेका छन ।

इजरायलमा हाल पाँच हजार भन्दा बढि नेपाली कार्यरत छन्, जसमध्ये अधिकांश केयरगिभरका रूपमा छन् । करिब ३०० जना कृषि क्षेत्रमा संलग्न छन्।

सम्बन्धित समाचार