एक महिनादेखि युएई भिसा रोकिँदा हजारौं नेपालीको रोजगारी प्रभावित

युनाइटेड अरब इमिरेट्स (युएई)ले हाल नेपाली कामदारको भिसा प्रक्रिया रोक्दा वैदेशिक रोजगारीमा ठूलो असर परेको छ। असोज यता नयाँ भिसा जारी हुन नसक्दा कामदार पठाउने प्रक्रिया ठप्पजस्तै भएको छ। भदौ महिनामा भने नयाँ र रि इन्ट्री गरी कुल २५ हजार २ सय १८ श्रमिक युएई गएका थिए ।

युएईले भिसा रोकिएको औपचारिक जानकारी नेपाललाई नदिए पनि एक महिनादेखि कामदार पठाउन नपाउँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित हुने देखिन्छ। मागपत्र प्रमाणीकरणमार्फत आउने राजस्व घटेको छ भने रेमिट्यान्स प्रवाह पनि सुस्त हुन थालेको छ।

श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मन्त्री विहिन हुँदा समस्या समाधानमा समन्वय अभाव देखिएको छ। वैदेशिक रोजगार व्यवसायी र युएईस्थित नेपाली दूतावासले पनि समयमै पहल नगरेको आरोप बढ्दै गएको छ।

कामदारहरू आपराधिक पृष्ठभूमिका नभए पनि सामूहिक रूपमा भिसा रोकिँदा नेपालले समयमै कूटनीतिक पहल गर्न नसकेको कमजोरी देखिएको छ। युएईजस्तो प्रमुख गन्तव्यमा समस्या लामो समय रहिरहे रोजगारीका अवसर गुम्ने र अर्थतन्त्रमा दबाब बढ्ने चिन्ता व्यक्त गरिएको छ।

विशेषज्ञहरूले नेपाल सरकारले तुरुन्तै कूटनीतिक तहमा छलफल गरी समाधान खोज्नुपर्ने सुझाव दिएका छन् ।

सम्बन्धित समाचार