मलेसिया सरकारले अब नेपालबाट मलेसिया पठाइने श्रमिकको भर्ती प्रक्रियामा सिण्डिकेट प्रणाली लागू गर्ने देखिएको छ। मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालको क्वालालम्पुरस्थित दूतावासलाई पठाएको पत्रमार्फत अब सीमित संख्याका मात्रै निजी वैदेशिक रोजगार एजेन्सीहरूलाई मलेसियामा कामदार पठाउन अनुमति दिइनेछ।
मलेसिया सरकारले नेपालबाट पठाइने श्रमिकहरूको भर्ना प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन भन्दै १० कडा मापदण्ड लागू गर्ने निर्णय गरेको हो। यी मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूलाई मात्र मलेसियाका लागि श्रमिक पठाउने अनुमति दिइनेछ।
नेपाल सरकारलाई ती मापदण्ड पूरा गर्ने रोजगार एजेन्सीहरूको सूची आगामी १५ नोभेम्बर २०२५ भित्र मलेसियाको मानव स्रोत मन्त्रालयमा पठाउन अनुरोध गरिएको छ। अधूरा विवरण भएका वा मापदण्ड नपुगेका आवेदनहरू अस्वीकृत गरिने पत्रमा उल्लेख छ।
मलेसिया सरकारको भनाइ अनुसार, यो नीति दुई देशबीचको श्रम आप्रवासन प्रणालीलाई व्यवस्थित, पारदर्शी र नैतिक बनाउन सघाउनेछ। तर नेपालका वैदेशिक रोजगार व्यवसायीहरूले भने यो निर्णयले सिण्डिकेट प्रणाली लागू भई केही सीमित एजेन्सीले मात्र अवसर पाउने अवस्था सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यी हुन् मलेसियाका लागि श्रमिक पठाउन योग्य एजेन्सीका १० प्रमुख मापदण्डहरू —
1. पाँच वर्षको अनुमति र सञ्चालन अनुभव — कम्पनीले कम्तीमा पाँच वर्षदेखि वैध अनुमति सहित सञ्चालनमा रहेको हुनुपर्छ।
2. ३,००० भन्दा बढी श्रमिक पठाएको अनुभव — पछिल्ला पाँच वर्षमा कम्तीमा तीन हजार श्रमिक व्यवस्थापन तथा पठाएको प्रमाण हुनुपर्छ।
3. तीन फरक देशमा अनुभव — म्यानपावर कम्पनीले कम्तीमा तीन देशमा कामदार पठाएको अनुभव देखाउनुपर्छ।
4. वैधानिक स्वीकृति — कम्पनीले प्रशिक्षण, मूल्याङ्कन, भर्ती तथा कामदार पठाउने कार्यका लागि वैधानिक स्वीकृति प्राप्त गरेको हुनुपर्छ।
5. सञ्चालकको ‘गुड कन्डक्ट’ प्रमाणपत्र — कम्पनी सञ्चालकले नैतिक आचरण प्रमाणपत्र (Certificate of Good Conduct) पाएको हुनुपर्छ।
6. अपराधरहित एजेन्सी — कम्पनी कुनै जबरजस्ती श्रम, मानव बेचबिखन, ठगी, श्रम कानुन उल्लङ्घन वा वित्तीय अपराधमा संलग्न नरहेको प्रमाणित हुनुपर्छ।
7. स्वामित्वमा प्रशिक्षण केन्द्र — एजेन्सीले आफ्नै स्वामित्वमा तालिम र मूल्याङ्कन केन्द्र सञ्चालन गरेको हुनुपर्छ।
8. अन्तर्राष्ट्रिय सिफारिस पत्र — कम्पनीले कम्तीमा पाँच अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्र प्राप्त गरेको हुनुपर्छ।
9. ठूलो र स्थायी कार्यालय — कम्पनीले कम्तीमा तीन वर्षदेखि स्थायी रूपमा सञ्चालन गरेको, न्यूनतम १० हजार वर्गफुट क्षेत्रफल भएको कार्यालय राखेको हुनुपर्छ।
10. कानुनी पालना प्रमाण — अघिल्ला भर्ती प्रक्रियामा कानुनी र व्यवस्थित रूपमा कामदार पठाएको प्रमाण पेश गर्नुपर्नेछ।