काठमाडौँ । मलेसियाको रोजगारदाता वेस्टर्न कम्पनीले नेपालबाट ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीका लागि मलेसिया लैजाने भएको छ। नेपालबाट श्रमिक आपूर्तिको जिम्मेवारी कम्पनिले आकर्षण इन्टरनेशनल र लालधनुष म्यानपावर लाई दिएको छ। जनही म्यानपावर कम्पनिले ४ सय श्रमिक मलेशिया पठाउने छन् । वेस्टर्नले माग गरेको ८ सयमा ६ सय महिला श्रमिकको माग रहेको छ ।
बुधबार राजधानी काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा मलेसियाली रोजगारदाता वेस्टर्न कम्पनी तथा नेपालका दुवै म्यानपावर कम्पनीका प्रतिनिधिहरूले संयुक्त रूपमा उक्त जानकारी गराएका हुन्।
सम्झौता अनुसार नेपाली श्रमिकले मलेसिया जान कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने बताइएको छ। भिसा, मेडिकल परीक्षण, हवाई टिकट, बिमा, श्रम स्वीकृति, सामाजिक सुरक्षाको पहिलो महिनाको शुल्कमा मात्र होईन घरदेखि काठमाण्डौ सम्म आउने र होटलमा बसेको लगाएतका सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने भएको छ।
वेस्टर्न कम्पनीका प्रतिनिधिले नेपाली श्रमिकलाई मेहनती, इमानदार र दक्ष जनशक्ति भएको भन्दै दीर्घकालीन रूपमा नेपाली श्रमिकसँग सहकार्य गर्न चाहेको बताए ।
वैदेशिक रोजगारी नीति अनुरूप नै नैतिक भर्ना प्रकृया वेस्टर्नको श्रमिक आपूर्तिमा कार्यन्वयन भएको छ । बिहीबार देखि कम्पनिका प्रतिनिधीहरुकै रोहभरमा अन्तर्वार्ताहरु संचालन भइरहेका छन् ।
श्रमिक छनौट र आर्थिक पक्ष पारदर्शी हुने म्यानपावर कम्पनिहरुले जनाएका छन् । आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु केसीले विगतका वर्षहरुमा पनि वेस्टर्नले श्रमिकहरु शुन्य लगतमै लगी खुसीसाथ काम गराइरहेकाले पून माग आएको बताए
शून्य लागतमा ठूलो संख्यामा नेपाली श्रमिक मलेसिया जान पाउने यो अवसरलाई वैदेशिक रोजगार क्षेत्रमा सकारात्मक र उदाहरणीय कदमको रूपमा हेरिएको छ।