नेपाल सरकार र साउदी अरब सरकारबीच द्विपक्षीय श्रम सम्झौता सम्पन्न भएको छ। आइतबार साउदी अरबको राजधानी रियादमा सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारको तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभएको छ।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठक सम्पन्न भएको थियो। बैठकका क्रममा मन्त्री भण्डारीले यस सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्ने धारणा राख्नुभयो।
मन्त्री भण्डारीका अनुसार सम्झौतामार्फत साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, रोजगारको सुरक्षा तथा सम्मानजनक कामको वातावरण सुनिश्चित हुने अपेक्षा गरिएको छ। वैदेशिक रोजगारीका क्रममा देखिँदै आएका समस्या, शोषण तथा ठगी न्यूनीकरणमा समेत यसले योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
द्विपक्षीय श्रम सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, काम गर्ने अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ। सम्झौताले दुवै देशका राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
साउदी अरबमा हाल कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र रोजगारीको स्थायित्वमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।