भाषा परीक्षा रोकिएपछि इजरायल रोजगारी आवेदन प्रभावित

इजरायल रोजगारीका लागि आवश्यक अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएपछि वैदेशिक रोजगार विभागले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रकृयाका लागि खुलेको आवेदन नै अन्यौलमा परेको छ ।

आवेदन प्रक्रियाका लागि अनिवार्य मानिएको अंग्रेजी भाषा परीक्षा सञ्चालनमा समस्या देखिएपछि इच्छुक आवेदकहरू अन्योलमा परेका छन्। इजरायलको PIBA (Population and Immigration Authority) ले मान्यता दिएको Cambridge Upskill English Test हाल त्रिपुरेश्वरस्थित CIIN International Qualifications Pvt. Ltd. मार्फत सञ्चालन हुँदै आएको थियो। उक्त परीक्षामा Reading र Listening मा A2, Writing मा A1 तथा Speaking मा B1 स्तर अनिवार्य गरिएको छ।

परीक्षा व्यवस्थापन, पूर्वाधार र शुल्कबारे असन्तुष्टि जनाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि सीआईआईएनले “अप्रत्यासित परिस्थिति” का कारण अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको जनाएको छ।

परीक्षार्थीहरूले पर्याप्त कम्प्युटर, हेडसेट र प्राविधिक पूर्वाधारको अभाव, सर्भर समस्या तथा परीक्षा सञ्चालनमा अव्यवस्था रहेको गुनासो गरेका छन्। सीआईआईएनले अत्यधिक आवेदनका कारण प्रणालीमा दबाब परेको स्वीकार गरेको छ।

इजरायल जान तयारीमा रहेका युवाहरूले भाषा परीक्षा प्रक्रिया थप सहज, पारदर्शी र व्यवस्थित बनाउन तथा परीक्षा दिने विकल्प विस्तार गर्न माग गरेका छन्।

सम्बन्धित समाचार