मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)बाट आफ्नो नाम फिर्ता लिन २५ म्यानपावर कम्पनीले प्रक्रिया अघि बढाउने भएका छन्।
युवा तथा श्रम मन्त्रालयमा सोमबार भएको त्रिपक्षीय छलफलमा २५ म्यानपावरका सञ्चालकहरूले एफडब्लुसिएमएसमा आफ्नो कम्पनीको नाम समावेश भएकोबारे जानकारी नभएको भन्दै उक्त प्रणालीबाट नाम हटाउन प्रतिबद्धता जनाएका हुन्।
मन्त्रालयले नाम फिर्ताका लागि कूटनीतिक प्रक्रिया अघि बढाउन प्रत्येक कम्पनीबाट लिखित निवेदन माग गरेको छ। कम्पनीहरूले लेटरप्याडमा निवेदन दिएपछि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसँग कूटनीतिक पहल गर्ने जनाएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’का अनुसार २५ कम्पनीलाई मन्त्रालयसँगै संघलाई समेत निवेदनको प्रति उपलब्ध गराउन भनिएको छ। निवेदनको ढाँचा संघको समन्वयमा तयार गरिनेछ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले छलफलको निष्कर्षअनुसार कूटनीतिक प्रक्रिया अघि बढाइने जानकारी दिए। व्यवसायीहरूले भने मलेसिया रोजगारीमा कुनै पनि प्रकारको सिन्डिकेट हुन नहुने धारणा राख्दै एफडब्लुसिएमएसबाट नाम फिर्ताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।