काठमाडौँ । आन्दोलनका कारण प्रभावित शिक्षण–सिकाइ गतिविधि फेरि सामान्यतर्फ फर्कन थालेका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले भदौ २८ गतेदेखि कर्फ्यू र निषेधाज्ञा (निषेधित क्षेत्रबाहेक) हटाउने निर्णय गरेसँगै काठमाडौँ महानगरपालिकाले विद्यालय सञ्चालनबारे निर्देशन जारी गरेको छ।
निर्देशनअनुसार आइतबार भदौ २९ गतेदेखि सबै शिक्षक र कर्मचारी विद्यालयमा उपस्थित हुने व्यवस्था मिलाइएको छ। तर सो दिन विद्यार्थीलाई विद्यालयमा नबोलाइने जनाइएको छ। शिक्षक तथा कर्मचारीले प्रशासनिक कामकाज, विद्यालयको सरसफाइ र सम्भावित क्षतिको विवरण संकलन गर्नेछन्। साथै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरी अवस्थाबारे जानकारी लिनुपर्ने पनि उल्लेख गरिएको छ।
परिस्थिति सामान्य भएमा र अभिभावकले आफ्ना बालबालिकाको आवागमनको जिम्मा लिने हो भने मात्र सोमबार भदौ ३० गतेदेखि विद्यार्थीलाई विद्यालय ल्याउन सकिनेछ। सो दिनदेखि मनोसामाजिक परामर्शसँगै अध्ययन–अध्यापन सुरु गर्ने तयारी गरिएको छ।
विद्यालय आउन–जान गर्न नसक्ने विद्यार्थीका लागि भने भर्चुअल कक्षाको सहजीकरण गरिने व्यवस्था गरिएको महानगरले जनाएको छ।

You must be logged in to post a comment.