त्रिभुवन विमानस्थलबाट विदेश जानेले स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर आउनुपर्ने

अध्यागमन कार्यालयले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई स्व–घोषणा फाराम अनिवार्य रूपमा पहिले नै भरेर मात्र विमानस्थल आउन आग्रह गरेको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (घ) बमोजिम पर्यटन वा अन्य प्रयोजन (भ्रमण) का लागि विदेश जाने नेपाली नागरिकले प्रस्थान अनुमति लिन कम्तीमा ६ महिनासम्म म्याद भएको वैध राहदानी, सम्बन्धित देशको भिसा तथा स्व–घोषणा फाराम भरी सहीछापसहित पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

हाल विमानस्थलभित्रै यात्रुलाई स्व–घोषणा फाराम दिई भराउने गरिए पनि धेरै यात्रुले फाराम भर्न आनाकानी गर्ने, भर्न नजाने वा खाली फाराम लिएर काउन्टरमा पुग्ने गरेको पाइएको कार्यालयले जनाएको छ। यसले अन्य यात्रु तथा कर्मचारीलाई समेत झन्झट हुने र अध्यागमन प्रक्रियामा अनावश्यक ढिलाइ हुने गरेको उल्लेख गरिएको छ।

त्यसैले घुम्न, भ्रमण वा पर्यटन उद्देश्यले विदेश जाने नेपाली नागरिकले स्व–घोषणा फाराम पहिल्यै भरेर मात्र अध्यागमनमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ। उक्त फारामको नमुना अध्यागमन विभाग को वेबसाइट https://tia.immigration.gov.np/ बाट वा उपलब्ध क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिने जनाइएको छ।

यसैबीच, अध्यागमनसम्बन्धी कुनै समस्या परेमा अध्यागमन कार्यालयका सूचना अधिकारीको मोबाइल नं. ९८५१२३१६९१ वा अध्यागमन विभागका सूचना अधिकारीको मोबाइल नं. ९८५१३१३६८६ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार