कोरियाबाट फर्किएका युवाको उद्यमशिलता प्रवर्धनका लागि RIN कार्यक्रमको आवेदन खुला

कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै ‘रिटर्नी इनोभेटर्स फर नेपाल (RIN)’ कार्यक्रमको आवेदन खुला गरिएको छ। नेपाल फर्किएपछि आफ्नै उद्यम थाल्ने चाहना भएका श्रमिकहरूलाई व्यवसायिक तालिम, परामर्श र सहुलियतपूर्ण ऋणको पहुँच दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

कोरियन सरकारको सहयोगमा सञ्चालन हुने यस कार्यक्रममार्फत उद्यमशीलता विकास बुट क्याम्प, व्यवसाय सञ्जाल विस्तार, परामर्शदाता मार्फत मार्गदर्शन, व्यवसाय विस्तारको रणनीति निर्माण लगायतका विषयमा सहजीकरण गरिनेछ। सहभागीहरूलाई व्यवसाय योजना बनाउने, रणनीतिक योजना तयार पार्ने तथा कृषि विकास बैंकसँग सहकार्यमा सहुलियतपूर्ण ऋणको व्यवस्था पनि गरिने बताइएको छ।

कार्यक्रममा सहभागी हुन आवेदक कोरियाबाट फर्किएका हुनुपर्नेछ । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ — प्रारम्भिक र वृद्धिको लागि। प्रारम्भिक चरणमा व्यवसाय थाल्न चाहने र योजना बनाइरहेका सहभागी समेटिने छन् भने वृद्धिको चरणमा पहिले देखि नै सञ्चालनमा रहेको व्यवसायलाई विस्तार गर्न चाहनेहरू सहभागी हुन सक्नेछन्।

कार्यक्रमको प्रारम्भिक चरणको बुट क्याम्प आगामी साउन २७ देखि ३१ (August 11–15) सम्म सञ्चालन हुने छ। त्यसपछिको चरणमा व्यवसाय सञ्जाल, परामर्शदाता समर्थन लगायतका गतिविधिहरू सेप्टेम्बरदेखि नोभेम्बरसम्म सञ्चालन गरिनेछ। अन्त्यमा, सहभागी उद्यमीहरूको प्रदर्शन र अनुभव साझा कार्यक्रम डिसेम्बर महिनामा गरिनेछ।

इच्छुक आवेदकले Google फारममार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन १० गते (जुलाई २५, २०२५) रहेको छ। थप जानकारीका लागि anushka.tbi@gmail.com मा सम्पर्क गर्न सकिने आयोजक संस्थाले जनाएको छ।

सम्बन्धित समाचार