नेपालबाट लाखौँ श्रमिकहरू वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम जारी नै छ। तर, त्यसकै विपरीत एउटा रोचक तथ्य के देखिन्छ भने नेपालमै विदेशी श्रमिकको उपस्थिति वर्षैपिच्छे बढ्दो छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार, सन् २०१७ जनवरीदेखि २०२५ जुलाई ३ (२०८२ असार १९) सम्मको ९ वर्षको अवधिमा १५ हजारभन्दा बढी विदेशी नागरिकले नेपालमा श्रम इजाजत लिएर रोजगारी गरिरहेका छन्।
श्रम इजाजत (Work Permit) लिने विदेशी नागरिकहरू मध्ये ५,६२७ जनाले पुरानो श्रम इजाजत नवीकरण गरेका छन्, भने ९,२६० जनाले पहिलो पटक श्रम इजाजत लिएर नेपालमा काम सुरु गरेका छन्।
सबैभन्दा बढी श्रमिक चीनबाट
उक्त अवधिमा नेपालमा रोजगारी गर्ने विदेशी श्रमिकहरू १४७ देशबाट रहेका छन्।
तिनीहरू मध्ये चीनबाट सर्वाधिक १०,४५२ जनाले श्रम इजाजत लिएका छन्।
त्यसपछि बढि संख्यामा इजाजत लिनेहरु निम्नानुसार छन् :
- संयुक्त अधिराज्य (६४८)
- संयुक्त राज्य अमेरिका (४७१)
- दक्षिण कोरिया (३६३)
- जापान (३५७)
- भारत (२९५)
- अष्ट्रेलिया (१७१)
- फ्रान्स (११७)
- फिलिपिन्स (११२)
- जर्मनी (१३४)
यसरी हेर्दा नेपालको श्रम बजारमा विश्वभरका नागरिकको उपस्थिति देखिन्छ, जसले नेपालको उद्योग, व्यापार, शिक्षा, सूचना प्रविधि, गैरसरकारी संस्था तथा कूटनीतिक क्षेत्रहरूमा काम गरिरहेको संकेत गर्दछ।
महिला सहभागिता पनि उल्लेख्य
यस अवधिमा ७६१ जना महिलाले श्रम इजाजत नवीकरण गरेका छन्, भने ९५० जना महिलाले नयाँ श्रम इजाजत लिएका छन्। कुल १,७११ जना महिलाले नेपालमा श्रमिकको रूपमा रोजगारी गरिरहेको देखिन्छ।
यो संख्या सानो भए पनि विदेशी महिलाहरूको सहभागिता विस्तार हुँदै गएको स्पष्ट हुन्छ।
पुरुषको कुल संख्या भने १३,१७६ रहेको छ, जुन कुलको करिब ८८.५ प्रतिशत हो।