प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुको मागहरु आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतवार साँझ गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसंग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताएका हुन्। भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका थिए । प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रुपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन उनले अनुरोध गरेका थिए । अध्यक्ष डा. केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन मुख्य विषय बनेको वताए । बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानून सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबहाकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष डा केसीले भने हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्री ज्यू, के हामी नेपाली होइनौँर? संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन ।ʼ
जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानून निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाई भएको र अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने ‘अब संसद बैठक आह्वान हुँदा तपाईहरुको समस्या पनि सम्बोधन हुन्छ, सबै एकैपटक नभएपनि क्रमशः तपाईहरुले भोग्नुपरेको कठिनाई सम्बोधन हुन्छ ।ʼ सरकारले अध्यादेश मार्फत गैरआवासीय नेपालीहरुलाई १० वर्षे भिषा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष डा. बद्री केसीले राजनीतिक नेतृत्वसंगको भेटलाई तिब्र पारेका छन् । यसअघि पनि अध्यक्ष केसीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई भेटेर संघका माग बारे ध्यानार्कषण गराएका थिए ।