डा. शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै एनआरएनए विश्व सम्मेलन सम्पन्न

काठमाडौं — “हाम्रो एकता, समृद्धिको आधार” मूल नारासहित आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । एनआरएनए अभियन्ताहरुको अथक पहमा १३ वर्षपछि संघले सर्वसम्मत नेतृत्व पाएको हो ।

फागुन ३० देखि चैत २ गतेसम्म सञ्चालन भएको सम्मेलनले विश्वभर छरिएका नेपालीलाई एकताको सूत्रमा बाँध्दै नेपालको समृद्धि, विकास र लगानी प्रवर्द्धनमा केन्द्रित १२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ। सम्मेलनले विशेष गरी गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने, कानुनी सुधार गर्ने, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन गर्ने तथा जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने निर्णय गरेको छ।

त्यसैगरी, सम्मेलनले प्रवासमा रहेका नेपाली श्रमिकको सुरक्षा, दोस्रो पुस्तालाई भाषा र संस्कृतिसँग जोड्ने, विज्ञता र प्रविधि नेपालमा हस्तान्तरण गर्ने तथा विश्वभर नेपाली पहिचान प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गर्नुभएको सम्मेलन सुशीला कार्कीको उपस्थितिमा समापन भएको हो। कुल ४ हजार २ सय ८६ प्रतिनिधिमध्ये ४०० भन्दा बढी प्रत्यक्ष उपस्थित थिए भने बाँकी अनलाइनमार्फत सहभागी भएका थिए।

समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्दै भनिन्, “नेपालको समृद्धिका लागि सरकार मात्र पर्याप्त हुँदैन, विश्वभर रहेका नेपालीहरूको सहकार्य, ज्ञान र पुँजी आवश्यक हुन्छ।” उनले एनआरएनएको एकताले देशको विकासमा नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन्।

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विगतका चुनौतीलाई पार गर्दै संस्था पुनः एकताबद्ध भएको उल्लेख गर्दै नेपालीहरूले नै नेपाल निर्माण गर्ने बताए।

अध्यक्ष डा. बद्री केसीले प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै एकपटकको नेपाली सधैंको नेपाली हुने व्यवस्था गर्न जोड दिएका छन्। उनले गैरआवासीय नागरिकता सहज बनाउन र संविधान संशोधनमार्फत नेपालीको पहिचान सुरक्षित राख्न आग्रह गरे। साथै मध्यपूर्वमा जोखिममा रहेका नेपाली श्रमिकप्रति सरकार र एनआरएनएको जिम्मेवारी बढाउनुपर्ने बताए।

अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले आन्तरिक मतभेदका बाबजुद संस्था एकताबद्ध भएको उल्लेख गर्दै अब विभाजन दोहोरिन नदिने प्रतिबद्धता जनाए। उनले गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्न र लगानीमैत्री कानुनी वातावरण बनाउन सरकारसँग माग गरे।

नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले एनआरएनएलाई थप सुदृढ बनाउँदै प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई देश विकासमा जोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको पुनर्संरचना, अनलाइन मतदान व्यवस्था र श्रमिक समस्याको समाधानका लागि प्रविधिको प्रयोग गर्ने योजना अघि सारे।

सम्मेलनले विश्वभरका नेपालीलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देशसहित समृद्ध नेपालको साझा मार्गचित्र प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ।

सम्बन्धित समाचार