काठमाडौंमा सुरु भयो एनआरएनएको १२औँ विश्व सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन शनिबारबाट काठमाडौंमा सुरु भएको छ। राजधानी मा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल ले पानसमा दीप प्रज्वलन गर्दै अधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सञ्जाल नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए। उनले गैरआवासीय नेपालीले औद्योगिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गरे। नेपालको संविधान र कानुनले गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारका रूपमा स्वीकार गरेको भन्दै उनले लगानी तथा सांस्कृतिक जिम्मेवारी बढाउनुपर्नेमा जोड दिए।

मन्त्री शर्माले हाल मध्यपूर्व क्षेत्रमा देखिएको संकटका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षाप्रति सरकार सजग रहेको बताए। सरकारले इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएर श्रमिक र परिवारबीच समन्वय गर्ने व्यवस्था गरिएको जानकारी दिए। विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चालिएको उनको भनाइ थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठ ले प्रवासमा रहेका नेपालीहरूमा मातृभूमिका लागि केही गर्ने भावना बलियो रहेको बताए। संघभित्र देखिएको विवाद अन्त्य भई एकता स्थापित भएको उल्लेख गर्दै उनले अब समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे। साथै, निर्वाचन प्रणाली र डेलिगेट्स प्रणालीमा सुधार गर्दै सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने तयारी भइरहेको उनले बताए।

संस्थापक अध्यक्ष उपेन्द्र महतो ले संघको एकताप्रति खुसी व्यक्त गर्दै देश विकासका लागि सबै नेपालीले साझा संकल्प गर्नुपर्ने धारणा राखे। व्यक्तिगत सफलता मात्रै पर्याप्त नभई देश समृद्ध नभएसम्म त्यसको अर्थ नहुने उनले बताए। विदेशमा रहेका नेपालीले आफ्नो क्षमता र अनुभव मातृभूमिको विकासमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

कार्यकारी अध्यक्ष डा. बद्री केसी ले संघको फुटदेखि एकतासम्मको यात्रामा आफू नेतृत्वमा रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ एकता कायम गरिने बताए। उनले गैरआवासीय नेपाली नागरिकता र सम्बन्धित कानुनमा देखिएका जटिलता हटाउन सरकारसँग आग्रह गरे।

कार्यक्रममा पूर्वअध्यक्षहरू विनोद कुँवर, जीवा लामिछाने, भवन भट्ट, आरके शर्मा तथा पहिलो महिला अध्यक्ष रबिना थापा लगायतले पनि मन्तव्य दिएका थिए। वक्ताहरूले गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका थिए।

वक्ताहरूले एनआरएनए अभियानलाई विश्वभर रहेका करिब ८० लाख नेपालीको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न अनुकूल नीतिगत वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार