आजदेखि एनआरएनएको विश्व सम्मेलन, नयाँ नेतृत्वका चयन हुँदै

आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ।

‘Our Unity, Base for Prosperity’ (हाम्रो एकता, समृद्धिको आधार) नाराका साथ आयोजना गरिएको सम्मेलनको उद्घाटन बिहान ९ बजे हुने कार्यक्रम छ। सम्मेलन १४ देखि १६ मार्च २०२६ (फागुन ३० देखि चैत २, २०८२) सम्म सञ्चालन हुनेछ।

महाधिवेशनअन्तर्गत संघको नयाँ नेतृत्व चयनका लागि १४ मार्चको साँझदेखि १५ मार्चको साँझसम्म निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। निर्वाचन भौतिक र अनलाइन दुवै माध्यमबाट हाइब्रिड मोडेलमा गरिनेछ। यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदानमा सहभागिता जनाउनेछन्। यद्यपि नेतृत्व चयनका लागि सर्वसम्मतिको पहलसमेत भइरहेको आयोजकले जनाएको छ।

सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी नीति, संयुक्त लगानी, पर्यटन, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण लगायत विषयमा विभिन्न सत्रमार्फत छलफल गरिनेछ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका गैरआवासीय नेपाली प्रतिनिधि तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

महाधिवेशनको समापन १६ मार्च २०२६ (चैत २, २०८२) मा हुने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार