पश्चिम एसियाको तनावबीच ५४ हजार ७८६ नेपाली सम्पर्कमा

पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला परिस्थितिका बीच त्यहाँ रहेका ५४ हजार ७८६ जना नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत आफ्नो विवरण दर्ता गराएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको दर्ता प्रणालीमा सोमबार साँझसम्म उक्त संख्यामा नेपालीले विवरण दर्ता गरिसकेका हुन्।

मन्त्रालयले दर्ता भएका विवरणहरूको प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ। पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न मन्त्रालय र सम्बन्धित देशहरूमा रहेका नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको पनि मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा सञ्चालनमा रहेका छन्। राहदानी लगायत अत्यावश्यक सेवा लिन सेवाग्राहीहरूले नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमार्फत समय मिलाएर सेवा लिन सक्नेछन्। हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनी, निकाय तथा नियोगहरूले जारी गर्ने सूचनाहरू हेर्न मन्त्रालयले आग्रह गरेको छ।

त्यसैगरी मन्त्रालयले पश्चिम एसियामा रहेका सबै नेपाली नागरिकलाई विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदान–प्रदान नगर्न पनि विशेष अनुरोध गरेको छ।

पश्चिम एसियाका अधिकांश स्थानमा हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन्। संयुक्त अरब इमिरेट्समा Flydubai र Air Arabia का सीमित उडान सञ्चालनमा रहेका छन् भने दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको छ। त्यस्तै साउदी अरेबिया र ओमानतर्फ पनि हवाई सेवा पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार