नेपाली नागरिकहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा विकसित वर्तमान परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रहन, आधिकारिक सूचनामात्र विश्वास गर्न र कुनै पनि प्रकारका अफवाह तथा भ्रामक सामग्रीबाट टाढा रहन पुनः आग्रह गरेको छ।
मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका विभिन्न देशस्थित नेपाली नियोगहरूले निरन्तर रूपमा सूचना, प्रेस विज्ञप्ति तथा ब्रिफिङमार्फत आवश्यक जानकारी उपलब्ध गराइरहेका छन्। साथै, सम्बन्धित मित्रराष्ट्रहरूले पनि सार्वजनिक सुरक्षा कायम राख्न र अनावश्यक त्रास फैलिन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
जारी सूचनामा विशेषगरी सरकारी निकायबाट प्रकाशित आधिकारिक जानकारीमात्र विश्वास गर्न, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिने अपुष्ट हल्ला तथा अफवाहको पछि नलाग्न आग्रह गरिएको छ। त्यस्तै, त्रास वा डर फैलाउने उद्देश्यले फोटो, भिडियो वा अन्य सामग्री उत्पादन तथा सेयर नगर्न स्पष्ट रूपमा अनुरोध गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अधिकांश नेपालीहरूले यी निर्देशनहरूलाई जिम्मेवार रूपमा पालना गरिरहेका छन्। तर, केही नेपालीहरूले नियम उल्लंघन गरेको कारण पक्राउ परेका घटनाहरू समेत सार्वजनिक भएको जानकारी दिइएको छ।
मन्त्रालयले संकटको समयमा आफू बसेको देशको कानून तथा सुरक्षा सम्बन्धी नियमहरूको पूर्ण पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य र दायित्व भएको स्पष्ट पारेको छ। हालको संवेदनशील अवस्थामा जारी गरिएका सूचना, एडभाइजरी तथा निर्देशनहरू कानूनसरह लागू हुने भएकाले उल्लंघन गर्दा ठूलो जरिवाना, कारावास तथा डिपोर्ट जस्ता गम्भीर कानूनी कारबाही भोग्नुपर्ने चेतावनी पनि दिइएको छ।
यसै सन्दर्भमा, मन्त्रालयले पश्चिम एसियामा रहेका सम्पूर्ण नेपालीहरूलाई सजग, संयमित र जिम्मेवार बन्न आग्रह गर्दै अफवाहबाट टाढा रहन र निषेध गरिएका कुनै पनि सामग्री निर्माण वा सेयर नगर्न पुनः अपिल गरेको छ।