‘समृद्धि र स्थिरताको प्रतीक : शेख तमीमको नेतृत्व’

प्रोफेसर मोहम्मद रमजान अली मियाँ

हरेक वर्ष डिसेम्बर १८ मा कतारले मनाउदै आएको ‘कतार राष्ट्रिय दिवस’ यस वर्ष अरबी वाक्यांशः بكم تعلو ومنكم تنتظر (बिकुम तअ्लु व मिनकुम् तन्तजिरु) अर्थात राष्ट्रको उन्नति र भविष्य जनतामाथि निर्भर हुन्छ भन्ने आशयसहित कतारले मनाउने भएको छ । यस नाराले एकता, निष्ठा र मानव विकासलाई मूल मूल्यका रूपमा जोड दिन्छ । यो ऐतिहासिक वाक्यांश सन् २०१६ मा कतार युनिभर्सिटीमा दिइएको महामहिम अमीरको प्रेरणादायी सम्बोधनबाट लिइएको अंश हो । यस वाक्यांशले शेख तमीमको मूल दर्शनलाई झल्काउँछ ।

कतार राष्ट्रिय दिवस समारोह आयोजन समितिले सन् २०२५ का लागि ‘तपाईंहरूकै कारण यो देश उचाइमा पुग्छ, र तपाईंहरूबाटै यसको अपेक्षा राख्दछ’ भन्ने आधिकारिक नारालाई आफ्नो श्लोगन बनाएको छ । हुन त अमीरको राष्ट्रिय दिवससम्बन्धी सन्देशहरूमा प्राय जनताको भूमिका, धैर्यता, आत्मनिर्भरता र साझा उत्तरदायित्व प्रमुख रूपमा देखिन्छ । आजको कतार अनि यसले हासिल गरेको प्रगति तथा विकास र पृथक पहिचान उनै पुर्खाले व्यक्त गरेको आशा र देखेको सपना लाई प्रतिविम्बित गर्दछ ।

अमीरद्वारा व्यक्त वाक्यांशले मानव विकासमा लगानी गर्नु नै प्रगतिको आधार स्तम्भ र उपलब्धिहरूको दीर्घकालीन दिगोपनको मूल आधार हो भन्ने राष्ट्रको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । राष्ट्रको शक्ति तेल–ग्यासमा मात्र होइन, जनतामा निहित छ र कठिन समय (नाकाबन्दी, महामारी)मा पनि नागरिकको ऐक्यबद्धताले कुनै कठिनाई भोग्नु नपरेको महत्वपूर्ण सन्देश यहाँ महसुस गर्न सकिन्छ । हुन पनि शेख तमीम बिन हमद अल थानी गहिरो राष्ट्रप्रेम, दृढ आत्मसम्मान र आफ्ना पुर्खाको मार्गदर्शनलाई आधुनिक सन्दर्भमा अघि बढाउने नेताका रूपमा चिनिन्छन्।

उनले केवल शासन होइन, इतिहासको निरन्तरता बोकेर नेतृत्व गरेका छन्। कतारभित्र मात्र नभइ अन्तर्राष्ट्रिय समुदाय बिच पनि कतारी सार्वभौमिकता र आत्मनिर्णयलाई कुनै पनि दबाबभन्दा माथि राख्ने दृढ अडान लिन सक्ने अदम्य साहस भएका राष्ट्रप्रेमी नेताको रूपमा शेख तमीम चिनिन्छन। जनता–राज्य–संस्थाबीच विश्वासको सम्बन्ध बलियो बनाउने सक्ने गज्जबैको शैली वहाँमा देखिन्छ। संकटमा राष्ट्रलाई एकताबद्ध गर्ने नैतिक नेतृत्व वहाले बहन गरेर देखाइ सक्नु भएको छ।यस वर्षको नारामा पनि शेखले नेतृत्वलाई सफल तुल्याउन आम नागरिकको पनि महत्त्वपूर्ण भूमिका र दायित्व हुन्छ भनेर वहाँले दर्शाउन खोज्नु भएको स्पष्ट छ।

यस वाक्यांश बारे केहि दिन अघि मात्रै कतारका संस्कृति मन्त्री महामहिम शेख अब्दुलरहमान बिन हमद अल–थानीले भनेका छन कि यस वर्षको नारा अमीरको एक प्रेरणादायी सन्देशबाट लिइएको हो, जसले कतारको निर्माण र समर्पणको यात्रालाई निरन्तर अघि बढाउन पुनः आह्वान गर्दछ । राष्ट्र निर्माण मानव विकाससँग अविच्छिन्न रूपमा जोडिएको छ र देशको समृद्धि जनताको समर्पण र प्रतिबद्धताबाट नै साकार हुन्छ भन्ने दृढ विश्वासबाट यो नारा उत्पन्न भएको उनले स्पष्ट पारेका थिए ।

कतारी नागरिकहरू आफ्नो कर्तव्यप्रति सजग रहेको परिप्रेक्ष्यमा विभिन्न क्षेत्रमा प्राप्त अधिकारप्रति गर्व गर्ने कतारवासीहरू माझ ती अधिकार तब मात्र पूर्ण हुन्छन् जब तिनलाई कर्तव्यको जिम्मेवारीसँग जोडेर पूरा गरिन्छ । कतारवासीहरूले यी जिम्मेवारीहरूलाई सचेतता र उत्तरदायित्वका साथ आत्मसात् गरेको पनि देखिन्छ । अर्को कुरा सच्चा राष्ट्रियता र राज्यप्रतिको इमानदारीता कुनै दिइएको विशेषाधिकार होइन, बरु मातृभूमिप्रतिको प्रेमबाट प्रेरित निरन्तर सेवा र समर्पणको कार्य हो, जुन आमाप्रतिको निःस्वार्थ भक्तिभाव जस्तै हो, जहाँ कुनै प्रतिफलको अपेक्षा हुँदैन ।

कतारको राष्ट्रिय दिवस (डिसेम्बर १८) आरम्भ देखिनै औपचारिक रुपमा आयोजना हुँदै आएको छ । यो कहिल्यै विधिवत अवरुद्ध भएको पाइंदैन । तथापि केही वर्ष यता ठूला सार्वजनिक कार्यक्रम, परेड र उत्सवहरू अवरुद्ध वा सीमित हुन पुगेको पाइन्छ । यसको मुख्य कारणहरूमा कोभिड –१९ महामारी लगायत निम्न अवस्था र घटना प्रमुख देखिन्छ । सन् २०२० र २०२१ मा विश्वव्यापी महामारीका कारण कतारले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिंदै ठुला कार्यक्रम सिमित गर्यो । भीडभाड हुने परेड, सांस्कृतिक कार्यक्रम र सार्वजनिक जमघटहरू स्थगित वा न्यून गरेको पाइन्छ । यस बेला राष्ट्रिय दिवसको सन्देश मिडिया, अनलाइन र सीमित कार्यक्रममार्फत व्यक्त गरिएको थियो ।

मध्यपुर्वको विशेष परिस्थिति र कतार माथी क्षेत्रीय कूटनीतिक संकट (न्गाि द्ययिअपबमभ) आइपरेको हुनाले पनि त्यो उत्साह नभएको कारण राष्ट्रिय दिवस सीमित हुन पुगेको थियो । सन् २०१७–२०२१ को खाडी नाकाबन्दी अवधिमा सुरक्षा र स्थिरतालाई ध्यानमा राख्दै केही वर्ष उत्सवहरू साधारण, प्रतीकात्मक र संयमित रूपमा मनाइयो । साढे चारवर्षे लामो नाकाबन्दीलाई कतारले आफ्नो बिकास र आत्मनिर्भरतामा बदलेर विश्वलाई फरक सन्देश दिएको छ । यस बिषम परिस्थितिमा कतारले आफ्नो राष्ट्रिय दिवसलाई राजनीतिक प्रदर्शनभन्दा बढी एकता र धैर्यताको प्रतीक बनाएको प्रष्ट देखिन्छ । राष्ट्रिय शोक वा संवेदनशील अवस्थामा पनि कतारले राष्ट्रिय दिवसलाई सिमित दायरामा रहेर मनाएको देखिन्छ ।

कुनै वर्ष शासक परिवारका सदस्यको निधन वा राष्ट्रिय रूपमा संवेदनशील परिस्थितिमा उत्सवहरू सरल, शान्त र औपचारिक सीमामा राखिएको थियो । राष्ट्रिय मूल्य र प्राथमिकतालाई मध्यनजर गर्दै कतारले सधैं उत्सवभन्दा राष्ट्रको गरिमा, एकता र नागरिकको सुरक्षालाई प्राथमिकता दिएको पाइन्छ । त्यसैले परिस्थिति अनुकूल निर्णय गर्दै कार्यक्रमको स्वरूप परिवर्तन गरिएको हो । कतारको इतिहास हेर्ने हो भने पनि कतारीहरूको पुस्तौँदेखि देशप्रेम एक गहिरो सांस्कृतिक मूल्यका रूपमा विकसित हुँदै आएको देखिन्छ, जुन प्रेम र निष्ठासहित एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।

शेख तमीमले विशेषगरी दुई वटा महत्त्वपूर्ण विरासत आफ्नो पुर्खाबाट प्रेरणा स्वरुप अङ्गीकार गरेको आत्मा म पाउँदछु। पहिलो त कतार राज्यको संस्थापक आफ्नो मार्गदर्शक शेख जासिम बिन मोहम्मद अल थानी भित्र रहेको स्वतन्त्रता, आत्मसम्मान र बाह्य हस्तक्षेपविरुद्ध अडान लिने क्षमता अर्को जनताको एकता र राष्ट्रिय पहिचान निर्माण गर्न सक्ने साहस शेख तमीमले यही आत्मालाई आधुनिक कूटनीति र शासनमा उतारे। विकासका प्रत्येक चरणमा कतारवासीहरूले ज्ञान, परिश्रम र प्रगतिप्रतिको आफ्नो प्रतिबद्धता प्रमाणित गर्दै आएका छन्, जसका कारण राष्ट्रको झण्डा सधैं गौरव र सम्मानका साथ उचालिएको छ ।

हामीले यसै दशकमा कतारमाथी आइपरेका विभिन्न घटना जसले यहाँको शान्ति र बिकासलाई माथि उठन नदिन गरिएका दुस्साहसप्रति कतारी नागरिकहरूले देखाएको सहनशीलता र अदम्य साहस अत्यन्तै प्रेरणादायी र उदाहरणीय थियो । आकस्मिक चुनौती र दबाबकाबीच पनि कतारी समाजले आवेग होइन, धैर्य, विवेक र एकताको मार्ग रोज्यो । नागरिकहरूले अफवाह र उत्तेजनामा नपरी राष्ट्रप्रति अटुट विश्वास राख्दै नेतृत्वको मार्गदर्शनलाई सम्मानपूर्वक अनुसरण गरे । कतारी जनताले आफ्नो दैनिक जीवन, काम र जिम्मेवारीलाई निरन्तरता दिँदै देखाए कि साँचो साहस हतारमा होइन, स्थिरतामा निहित हुन्छ । कठिन समयमा पनि उनीहरूले आपसी सहयोग, सामाजिक सद्भाव र मानवीय मूल्यहरूलाई अझ मजबुत बनाए । यस अवधिमा कतारी नागरिकको सहनशीलता कमजोरी होइन, परिपक्वता र आत्मविश्वासको प्रतीक बन्यो ।

अदम्य साहस भनेको आक्रोश प्रदर्शन गर्नु होइन, राष्ट्रको शान्ति, गरिमा र भविष्यको रक्षा गर्न संयम र दृढताका साथ उभिनु हो भन्ने कुरा उनीहरूले प्रमाणित गरे । यसरी कतारका नागरिकहरूले विश्व सामु स्पष्ट सन्देश दिए कि —‘राष्ट्रको शक्ति हतियारमा होइन, जनताको चेतना, एकता र धैर्यमा निहित हुन्छ ।’ महामहीम शेख तमीमले कतारका उल्लेखनीय उपलब्धिहरूको चर्चा गर्दै भनेका छन कि ‘कतारको आधुनिक यात्राले विश्वभरि एउटा उज्यालो उदाहरण प्रस्तुत गरेको छ, जसले सबै क्षेत्रहरूमा समग्र विकास हासिल गर्दै राष्ट्रहरूको अग्रपङ्क्तिमा आफ्नो स्थान सुरक्षित गरेको छ ।’ उनले मातृभूमिलाई सधैं निःस्वार्थ रूपमा दिने आमाको प्रतीकका रूपमा चित्रण गर्दै भने कि ‘उसका सन्तानहरूले निष्ठा, परिश्रम र बलिदानमार्फत राष्ट्रको उन्नतिका लागि ऋण तिर्छन् ।’

यसैगरी सन्तुलित परराष्ट्र नीतिमा शेख तमीमले यी संरचनालाई स्थायित्व र परिपक्वतामा पुर्‍याएको त विश्व समुदायले हार्दिकता साथ स्विकारी सकेको देखिन्छ।विश्वमा जहाँ समस्या देखिन्छ ,जहाँ अशान्ति र द्वन्द्व देखिन्छ त्यहाँ कतारको मध्यस्थता खोजिन्छ। आज कतारका नागरिकहरू आफ्नो पहिचान र मूल्यहरूमा गर्व गर्दै, विगतबाट प्रेरणा लिई र भविष्यप्रति दृढ संकल्पका साथ, यस पवित्र भूमिको गरिमासँग मेल खाने उज्ज्वल भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढिरहेका छन् । कतारले शेख जासिम बिन मोहम्मद बिन थानीबाट लिएको प्रेरणा र त्यसको परिणामस्वरूप नवपिँढीले प्राप्त गरेको उपलब्धिलाई यसरी बुझ्न सकिन्छ ।

शेख जासिम बिन मोहम्मद बिन थानी कतारका संस्थापक मात्र होइनन, राष्ट्र चेतना, आत्मसम्मान र स्वाधीनताको प्रतीक हुन् । उनीबाट कतारले पहिलो प्रेरणा एकता र आत्मनिर्णयको भावना पायो । विभाजन र बाह्य दबाबकाबीच पनि आफ्नै मार्ग तय गर्न सकिन्छ भन्ने विश्वास उनको नेतृत्वको मूल शिक्षा थियो । दोस्रो प्रेरणा थियो न्याय, विवेक र सन्तुलित नेतृत्व । शेख जासिमले शक्ति भन्दा पहिले नीति र सिद्धान्तलाई प्राथमिकता दिए । यही सोच आजको कतारी शासन प्रणाली र सामाजिक संरचनामा गहिरोसँग प्रतिबिम्बित छ । तेस्रो प्रेरणा मातृभूमिप्रतिको निःस्वार्थ समर्पण थियो । राष्ट्र कुनै सम्पत्ति होइन, भावनात्मक जिम्मेवारी हो भन्ने दर्शन उनले रोपे, जुन आज पनि कतारी चेतनामा जीवित छ ।

उनमा रहेको त्यो आत्मविश्वास, त्याग र समर्पणले नवपिँढीले पाएको नतिजा पनि गज्जबैको छ । आफ्ना पुर्खाप्रतिको विश्वास र वहाँहरुले देखाएको मार्ग नै विकासको आधारशिला हो भन्ने दृढ़ संकल्प नै कतारको प्रगतिको अभिन्न अंश मान्नु पर्दछ । कतारका संस्थापक शेख जासिम बिन मोहम्मद अल थानीबाट वर्तमान अमीर शेख तमीम बिन हमद अल थानीले अवलम्बन गरेका मुख्य सन्देशहरू ऐतिहासिक निरन्तरता, राष्ट्रनिर्माण र आधुनिक शासनसँग गहिरो रूपमा जोडिएका छन् । जस्तै :

१. स्वतन्त्रता र सार्वभौमिकताको अडान शेख जासिमले बाह्य हस्तक्षेप अस्वीकार गर्दै कतारको स्वतन्त्र अस्तित्व स्थापित गरेका थिए । शेख तमिमले पनि आजको विश्व राजनीतिमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्र निर्णय क्षमता र आत्मसम्मानलाई सर्वोच्च प्राथमिकता दिएको प्रष्ट देख्न सकिन्छ ।

२. एकता र राष्ट्रिय पहिचान शेख जासिमले विभिन्न कबिला र समुदायलाई एकतामा बाँधेर कतारको आधारशिला राखे । शेख तमीमले नागरिक र बासिन्दाबीच सहअस्तित्व, राष्ट्रिय एकता र साझा पहिचानलाई सुदृढ बनाइरहेका छन ।

३. धैर्य, सहनशीलता र दृढता संस्थापक शेख जासिमले कठिन समयहरूमा धैर्य र साहस देखाए । शेख तमीमले पनि नाकाबन्दी र क्षेत्रीय चुनौतीहरूको सामना गर्दा संयम, विवेक र आत्मनिर्भर नीतिलाई अघि बढाए ।

४. न्याय र उत्तरदायी शासन शेख जासिमको शासन दर्शनमा न्याय र जनहित केन्द्रमा थियो । शेख तमीमले सुशासन, कानूनी शासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अडानलाई मजबुत बनाएका छन ।

५. परम्परा र आधुनिकताको सन्तुलन शेख जासिमले इस्लामी मूल्य र अरबी परम्परालाई राज्यको मेरुदण्ड बनाए । शेख तमीमले ती मूल्यहरू जोगाउँदै शिक्षा, प्रविधि, खेलकुद र कूटनीतिमार्फत कतारलाई आधुनिक राष्ट्रका रूपमा उभ्याएका छन ।

६. मानव गरिमा र सामाजिक न्याय शेख जासिमको दृष्टिमा मानिस राज्यको शक्ति थियो । शेख तमीमले मानव विकास, श्रमिक अधिकार, शिक्षा र स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेका छन ।

७. भविष्यप्रति जिम्मेवारी शेख जासिमले भविष्यका पुस्ताका लागि स्वतन्त्र राज्य छोडे । शेख तमिम २०३० मार्फत दिगो विकास र सुरक्षित भविष्य सुनिश्चित गर्न प्रयासरत छन । यसै वर्ष कतारमाथी गरिएको बर्बरताको कुरा गर्ने हो भने पनि कतार माथि इरानी र इजरायली आक्रमणको समयमा कतारले आफ्नो दुरदर्शिता यस्ता महत्वपूर्ण तर सारांशात्मक उपायहरूद्वारा देखाएको थियो :

सन्तुलित कूटनीतिः कतारले सिधा युद्ध वा आक्रमणमा भाग नलिई, क्षेत्रीय स्थिरता र शान्ति कायम राख्ने प्रयास गर्यो ।
मानवीय पहलः संकट प्रभावित राष्ट्र र नागरिकहरूको सुरक्षा र राहत सुनिश्चित गर्ने मानवीय उपाय अपनायो ।
३. रणनीतिक संवादः अन्तर्राष्ट्रिय शक्तिसँग संवाद र सहकार्य गरेर आफ्नो राष्ट्रिय स्वाधीनता र सुरक्षा कायम राख्यो ।
४. भविष्यको दृष्टिकोणः तत्काल संकट मात्र होइन, दीर्घकालीन सुरक्षा, आर्थिक र राजनीतिक स्थिरताका लागि योजनाबद्ध नीति अपनायो ।
संक्षिप्तमा भन्नू पर्दा कतारले तत्काल प्रतिक्रियामा आवेग देखाउनुभन्दा सन्तुलित, सोचनीय र भविष्यमुखी रणनीति अपनाउँदै आफ्नो सुरक्षा, स्वतन्त्रता र क्षेत्रीय प्रतिष्ठा सुरक्षित राख्यो । मेरो यस लेखको सारंश नै “शेख जासिमले रोपेको स्वतन्त्रताको बीउ, शेख तमिमले धैर्य, विवेक र दूरदृष्टिले फुलाएका छन्” भन्ने हो । यी प्रेरणाहरूको प्रतिफलस्वरूप नवपिँढीले स्थिर, सुरक्षित र आत्मविश्वासी राष्ट्र पाएको छ ।

आजका कतारी युवाहरू आफ्नो पहिचानमा गर्व गर्छन्, विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम छन् र आधुनिक ज्ञान तथा परम्परागत मूल्यबीच सन्तुलन राख्न सक्ने भएका छन् । नवपिँढीले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अवसरहरूको पहुँच र विश्वव्यापी सम्मान प्राप्त गरेको छ । तर यससँगै उनीहरूले एउटा गहिरो उत्तरदायित्व पनि पाएका छन— शेख जासिमको सपना अनुरूप राष्ट्रलाई केवल समृद्ध होइन, न्यायपूर्ण, मानवकेन्द्रित र आत्मसम्मानयुक्त बनाइराख्ने जिम्मेवारी । यसरी भन्न सकिन्छ, शेख जासिमले रोपेको बीउ आज नवपिँढीले सुन्दर भविष्यको वृक्षका रूपमा फलेको देखिरहेको छ ।

कतारले हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाउँछ, जसले सन् १८७८ मा स्वर्गीय शेख जासिम बिन मोहम्मद बिन थानीद्वारा राज्यको स्थापना गरिएको ऐतिहासिक क्षणलाई स्मरण गर्दै राज्यको स्वतन्त्रता र एकताको सम्झनामा यो दिवस बडो हर्षोल्लासका साथ कतारी नागरिक र आप्रवासीहरु मिलेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइन्छ ।

वर्तमान अमीरले आफ्नो देशको राष्ट्रिय दिवसलाई परम्परा र आधुनिकताको सन्तुलित प्रदर्शन तथा युवापिढीलाई इतिहाससँग जोड्ने शैक्षिक र सांस्कृतिक अवसरको रुपमा विकास गर्न जोड दिएको देखिन्छ । यतिमात्र होइन कतारको शान्तिपूर्ण, आत्मविश्वासी र स्थिर छविले विश्व समुदायलाई संवाद, सहकार्य र सम्मानको सन्देश पनि दिन्छ भने यसले कतारको स्वतन्त्र परराष्ट्र नीति र आत्मसम्मानको सन्देशपनि प्रवाह गरेको पाइन्छ ।

शैख तमीम र राष्ट्रिय दिवसबीच नेता र नागरिकबीचको भावनात्मक नाता, इतिहासका संस्थापक शैख जासिम बिन मोहम्मद अल थानीप्रति निरन्तर सम्मान र भावी पुस्तालाई हस्तान्तरण गरिने राष्ट्रप्रेमको विशाल विरासत देख्न सकिन्छ । विगतमा जस्तै यस वर्ष पनि राष्ट्रिय दिवसको अवसरमा परम्परा, एकता, संस्कृति र समुदायलाई जोड्ने विभिन्न कार्यक्रमहरु आयोजना गरिंदैछ । पारम्परिक परेडदेखि सांस्कृतिक उत्सव र पारिवारिक गतिविधिसम्म गर्ने बताइएको छ ।

आप्रवासी श्रमिकहरुको निम्ति कृक, अलखोर, एशियन टाउन, बर्वा अल बराहामा फाइनल म्याच हेर्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिंदैछ । त्यसैगरी अन्य आप्रवासी र कतारीहरुको निम्ति कर्नेश मुशैरिब डाउनटाउन लुसैल बुलिवार्ड ,दर्ब अल साई लगायतका स्थानमा विभिन्न कार्यक्रम आयोजना गरिंदैछ । परिवारको निम्ति पुरानो दोहा पोर्टमा पृथक र विशाल कार्यक्रमको आयोजना हुँदैछ ।

“कतारको राष्ट्रिय दिवस २०२५ को अवसरमा सम्पूर्ण कतारी नागरिक र बासिन्दालाई हार्दिक शुभकामना । यस वर्षको नाराअनुरूप, ‘तपाईंहरूकै कारण यो उचाइमा पुग्छ, र तपाईंहरूबाटै यसले यसको अपेक्षा गदर्छ’, हामी हाम्रो गौरवशाली यस भूमिमा आपसी एकता, शान्ति, समृद्धि र दिगो विकासको लागि सँगै अगाडि बढौं । कतारको उज्जवल भविष्य तपाईं हाम्रै योगदानबाट अझ उच्च र महान् बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु । नेपाल कतार मैत्रीपुर्ण सम्बन्ध सदैव अमर रहोस् ।

(लेखक राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली संयोजक तथा कानूनी परामर्शदाता हुन ।)

सम्बन्धित समाचार