सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने काठमाडौँ महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगतमा अनुमति प्राप्त गरी दर्ता भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ।

महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ साउन २८ गतेको निर्णयअनुसार, यस्ता विद्यालयहरूको स्थलगत अनुगमन, रुजु तथा एकिन गरी अनुमति खारेजीसम्बन्धी आवश्यक निर्णयका लागि शिक्षा विभागमार्फत कार्यपालिकामा प्रस्ताव पेश गर्ने निर्णय गरिएको हो।

महानगरपालिकाको शिक्षा विभागले विभिन्न समयमा गरेको स्थलगत अनुगमनका क्रममा, काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना तथा संलग्न सूचीमा उल्लेख भएका केही विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको वा नदेखिएको प्रतिवेदन प्राप्त भएको जनाएको छ।

शिक्षा विभागले वेबसाइटमा प्रकाशित सूचीअनुसारका विद्यालयहरू वास्तवमै सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी विद्यालय सञ्चालनमा रहेको पुष्टि गर्न आग्रह गरेको छ।

उक्त समयसीमाभित्र सम्पर्क तथा पुष्टि नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम ती विद्यालयहरू बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने महानगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार