श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नारासहित यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ। दिवसका अवसरमा देशभर विभिन्न सचेतनामूलक तथा संवादात्मक कार्यक्रमहरू आयोजना गरिएका छन्।
यसै क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगार बोर्डको आयोजनामा विहीबार विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वैदेशिक रोजगारीमा जाने तथा फर्किएका नेपाली श्रमिकको अधिकार संरक्षण, सुरक्षित आप्रवासन, सीप विकास, सामाजिक सुरक्षा र सुशासनको आवश्यकताबारे छलफल गरिएको थियो।
हरेक वर्ष डिसेम्बर १८ का दिन विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा पारित गरेको आप्रवासी श्रमिक तथा उनीहरूका परिवारका अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि को स्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् २००० देखि औपचारिक रूपमा यो दिवस विश्वव्यापी रूपमा मनाइँदै आएको छ।