इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न १,४६४ जना नेपाली सहायक कामदारका लागि रोजगारीको आवेदन खुलेको छ। माग गरिएको कुल संख्यामध्ये १,१३२ जना महिला र ३३२ जना पुरुषका लागि कोटा छुट्याइएको छ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (Long Term Care Facilities) मा सहायक कामदारका रूपमा नेपाली नागरिकलाई रोजगारीका लागि आवेदन आह्वान गरिएको हो। योग्य नेपाली नागरिकले विभागको FERMS पोर्टलमार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
महिलाका लागि १,१३२, पुरुषका लागि ३३२
कुल १,४६४ पदमध्ये ७७.३ प्रतिशत अर्थात् १,१३२ पद महिलाका लागि र २२.७ प्रतिशत अर्थात् ३३२ पद पुरुषका लागि छुट्याइएको छ। सूचनामा सहायक कामदारको मासिक तलब ६,४४३.५८ इजरायली शेकेल (NIS) तोकिएको छ। कामदारले हप्तामा ४२ घण्टा काम गर्नुपर्नेछ।
को–कोले आवेदन दिन पाउने ?
आवेदन दिनका लागि उम्मेदवारले २५ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने तथा कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, सम्बन्धित शैक्षिक योग्यता पूरा गरेको र नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट कम्तीमा १०+२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी न्यूनतम २४ महिनाको अध्ययन पूरा गरेको वा १०+२ सरहको मौखिक योग्यता हासिल गरी कम्तीमा तीन महिनाको केयरगिभिङ तालिम पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
उम्मेदवारसँग आवेदन दिने अन्तिम मितिसम्म कम्तीमा एक वर्ष म्याद बाँकी रहेको पासपोर्ट हुनुपर्नेछ। यसअघि इजरायलमा काम नगरेको तथा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा कार्यरत नरहेको हुनुपर्नेछ। साथै, उम्मेदवार शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने र तोकिएका रोगबाट संक्रमित नभएको हुनुपर्नेछ।
अंग्रेजी भाषा परीक्षण अनिवार्य
आवेदनसँगै उम्मेदवारले Cambridge Upskill Test वा सूचनामा तोकिएको अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्र पेश गर्नुपर्नेछ। न्यूनतम Reading A2, Writing A1, Speaking B1 र Listening A2 स्तर हासिल गरेको प्रमाणपत्र आवश्यक पर्ने उल्लेख छ।
त्यसैगरी प्रहरी चारित्रिक प्रमाणपत्र (No Criminal Record), पासपोर्टलगायत आवश्यक कागजात अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ। आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारीसमेत प्रणालीमार्फत दिइने व्यवस्था छ।
कसरी हुनेछ छनोट ?
पहिलो चरणमा स्वीकृत भएका उम्मेदवारको सूची PIBA (Population and Immigration Board Authority) मा नाम जाँचका लागि पठाइनेछ। त्यसपछि सफल उम्मेदवारको नाम विभागको वेबसाइटमा प्रकाशित गरिनेछ र इजरायल सरकारले तोकेको स्वास्थ्य संस्थाबाट Medical Checkup गराउनुपर्नेछ।
त्यसपछि इजरायलको PIBA को Implementation Protocol अनुसार कामदार छनोट गरिनेछ। छनोट भएका कामदारसँग रोजगार सम्झौता हस्ताक्षर गराइनेछ र आवश्यक प्रक्रिया पूरा गरी रोजगारीमा पठाइनेछ। सूचनामा Lottery प्रणालीबाट छनोट भएका सबै उम्मेदवारलाई रोजगारी सुनिश्चित नहुने पनि स्पष्ट गरिएको छ।
रोजगारी अवधि कति ?
कामदारको प्रारम्भिक करार अवधि एक वर्षको हुनेछ। करार अवधि थप गर्न सकिने व्यवस्था छ र आवश्यक प्रक्रिया पूरा भएमा अधिकतम पाँच वर्षसम्म रोजगारी अवधि थप हुन सक्ने उल्लेख छ।
कामदारले व्यहोर्नुपर्ने खर्च
सूचनाअनुसार हवाई टिकट, स्वास्थ्य बीमा, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, पासपोर्ट, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण शुल्क, वैदेशिक रोजगार कल्याणकारी कोषलगायत शीर्षकमा खर्च लाग्नेछ। पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क रु. ७००, अंग्रेजी भाषा परीक्षण शुल्क रु. ५,००० र वैदेशिक रोजगार कल्याणकारी कोषमा रु. १,५०० जम्मा गर्नुपर्ने उल्लेख छ। स्वास्थ्य परीक्षणको खर्च तोकिएको मापदण्डअनुसार हुनेछ।