वैदेशिक रोजगार व्यवसायीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड ५० लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संघका सदस्य व्यवसायीहरूबाट संकलन गरिएको उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले व्यवसायीहरूले सामूहिक रूपमा रकम संकलन गरेका हुन्। विपद्को यस कठिन परिस्थितिमा थप सहयोग जुटाउने उद्देश्यले संघले विभिन्न देशमा नेपाली श्रमिक कार्यरत रोजगारदाताहरूलाई समेत राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेको छ।
संघले विपद्को समयमा मानवीय सेवाभावका साथ सहयोग गर्ने सम्पूर्ण सदस्य व्यवसायी तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।
साथै, भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति आफ्नो साथ, सहयोग र ऐक्यबद्धता आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता संघले जनाएको छ।