इजरायलको केयरगिभर रोजगारीका लागि गोला प्रथाबाट ८३६ नेपाली छनोट

इजरायलको केयरगिभर (Caregiver) क्षेत्रमा रोजगारीका लागि आवेदन दिएका १ हजार ११५ नेपालीमध्ये गोला प्रथामार्फत ८३६ जना उम्मेदवार छनोट भएका छन्। जेरुसेलमस्थित इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (Population and Immigration Authority–PIBA) को कार्यालयमा पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गोला प्रथाबाट छनोट भएका उम्मेदवारहरूले अब स्वास्थ्य परीक्षण र आपराधिक अभिलेख प्रमाणीकरणको प्रक्रिया पूरा गरेपछि आगामी सेप्टेम्बर २०२६ देखि चरणबद्ध रूपमा इजरायल जानेछन्।

गोला प्रथा कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत, नेपाल सरकारको वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू प्रत्यक्ष प्रसारणमार्फत सहभागी भई प्रक्रिया अवलोकन गरेका थिए। यसले छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र विश्वसनीयता सुनिश्चित गरेको इजरायली पक्षले जनाएको छ।

गोला प्रथामा कुल १ हजार ११५ जना उम्मेदवार सहभागी भएका थिए। तीमध्ये ७८४ जना पुरुष र ३३१ जना महिला रहेका थिए। प्रत्येक समूहबाट ७५ प्रतिशतका दरले उम्मेदवार छनोट गर्दा कुल ८३६ जना अन्तिम छनोटमा परेका हुन्।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास ले इजरायलको केयरगिभिङ क्षेत्रमा निकट भविष्यमा थप २ हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल र इजरायलबीच ‘होम–बेस्ड केयरगिभिङ’ तथा ‘कृषि श्रमिक’ सम्बन्धी दुईवटा द्विपक्षीय प्रोटोकल अन्तिम चरणमा पुगेका छन्। ती सम्झौताले नेपाली श्रमिकका लागि इजरायलमा थप रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गोला प्रथाबाट छनोट भएका उम्मेदवारहरूले अब स्वास्थ्य परीक्षण तथा आपराधिक अभिलेख (क्रिमिनल रेकर्ड) प्रमाणीकरणलगायत अन्तिम प्रक्रिया पूरा गर्नुपर्नेछ। स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका र कुनै आपराधिक अभिलेख नभएका उम्मेदवारहरूलाई आगामी सेप्टेम्बरदेखि चरणबद्ध रूपमा इजरायल पठाइनेछ।

द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारहरूले इजरायली श्रमिकसरह न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा इजरायली श्रम कानुनअनुसारका सेवा–सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार