आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या झण्डै आठ लाख पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार पुनः प्रवेश (Re-entry) सहित कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन्। तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पुनः प्रवेशसहित अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ८ लाख ३९ हजार २ सय ६६ थियो। त्यसको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४७ हजार ७९ अर्थात् करिब ५ दशमलव ६१ प्रतिशतले घटेको देखिएको छ। पुरुष श्रमिकको संख्या ४७ हजार ७१५ ले घटेको छ भने महिला श्रमिकको संख्या ६ सय ३६ ले बढेको विभागको तथ्यांकले देखाएको छ।
विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। यूएईमा १ लाख ८३ हजार ५ सय ८० जनाले श्रम स्वीकृति लिएका छन्। त्यसमध्ये १ लाख ५४ हजार ८ सय ९२ पुरुष र २८ हजार ६ सय ८८ महिला रहेका छन्। पुनः प्रवेशबाहेक नयाँ श्रम स्वीकृतिमार्फत मात्रै यूएई जानेको संख्या ९४ हजार १ सय ९० रहेको छ।
दोस्रो स्थानमा रहेको मलेसियामा १ लाख ३२ हजार ६ सय ४६ नेपाली श्रमिक गएका छन्। त्यस्तै कतारमा १ लाख ३२ हजार ५१, साउदी अरेबियामा १ लाख २४ हजार ५ सय ८३, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ९ सय २०, जापानमा २२ हजार २ सय ६६, ओमानमा ११ हजार ६ सय ३३, साइप्रसमा ११ हजार ६९ र बहराइनमा ९ हजार ३ सय ३६ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्। दक्षिण कोरियामा भने सरकार–सरकार (G-to-G) प्रणालीअन्तर्गत ९ हजार ७८ जना नेपाली रोजगारीका लागि गएका छन्।
जिल्लागत रूपमा हेर्दा धनुषाबाट सबैभन्दा धेरै ३८ हजार ५ सय ५३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापाबाट ३५ हजार १ सय २४, मोरङबाट ३१ हजार ९ सय ९०, सिराहाबाट ३० हजार २ सय ११, महोत्तरीबाट २८ हजार २ सय २९, रुपन्देहीबाट २५ हजार ३ सय ९१, सुनसरीबाट २४ हजार ३ सय ६५ र सर्लाहीबाट २३ हजार २ सय ७३ जनाले श्रम स्वीकृति लिएका छन्।