दक्षिण कोरियामा रोजगारी गरी नेपाल फर्किएका नेपाली नागरिकलाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन ‘रिटर्नी इनोभेटर्स फर नेपाल (आरआईएन) समूह–३’ कार्यक्रमका लागि आवेदन खुला गरिएको छ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को आर्थिक सहयोगमा सञ्चालित के–हामी परियोजना अन्तर्गतको यो कार्यक्रम विशेषगरी रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गएर स्वदेश फर्किएका नेपाली नागरिकका लागि लक्षित गरिएको हो।
कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले आर्जन गरेको सीप, अनुभव र पुँजीलाई उद्यमशीलतामा रूपान्तरण गर्दै नयाँ व्यवसाय स्थापना गर्न तथा सञ्चालनमा रहेका व्यवसायलाई विस्तार गर्न आवश्यक सहयोग उपलब्ध गराउनु हो।
कार्यक्रमअन्तर्गत सहभागीहरूले पाँच दिने आवासीय उद्यमशीलता शिविर, उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञबाट व्यवसाय प्रवर्द्धन र व्यक्तिगत मार्गदर्शन, अन्य उद्यमीहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर, व्यवसायिक प्रस्तुति (पिच) प्रतियोगिता, निरन्तर परामर्श तथा के–हामी ऋण कार्यक्रममा पहुँचको अवसर प्राप्त गर्नेछन्।
कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिनेछ। प्रारम्भिक चरण उद्यम सुरु गर्न चाहने वा तीन वर्षभन्दा कम समयदेखि व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिका लागि हो। यस चरणमा उद्यमशीलता शिविर, व्यवसाय प्रवर्द्धन, मार्गदर्शन र व्यवसायिक प्रतिस्पर्धा समावेश गरिएको छ।
त्यसैगरी, वृद्धि चरण तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका व्यवसायका लागि लक्षित छ। यसमा व्यवसाय विस्तारका लागि व्यवसाय प्रवर्द्धन, मार्गदर्शन तथा व्यवसायिक प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गरिनेछ।
आवेदन २०८३ साउन १३ गते (जुलाई २९, २०२६) सम्म खुला रहनेछ। छनोट भएका सहभागीहरूको नाम २०८३ साउन १८ गते (अगस्ट ३, २०२६) सार्वजनिक गर्ने तयारी गरिएको छ।
इच्छुक आवेदकले आफ्नो व्यवसायको अवस्थाअनुसार प्रारम्भिक (Start) वा वृद्धि (Growth) चरणमध्ये कुनै एकका लागि मात्र आवेदन दिनुपर्नेछ। आवेदन आयोजकले उपलब्ध गराएको गुगल फाराम वा फ्लायरमा रहेको क्यूआर कोड स्क्यान गरी भर्न सकिनेछ। प्रारम्भिक चरणका लागि https://forms.gle/D2BCMWnGWtcJrKwG7 र वृद्धि चरणका लागि https://forms.gle/yKmdEE7mWMfGYHYj7 मा गएर आवेदन दिन सकिनेछ।