इजरायल रोजगारीको ‘लटरी आउट’ प्रक्रियाबारे श्रम मन्त्रालयको स्पष्टिकरण

युवा, श्रम तथा रोजगार मन्त्रालय ले इजरायल रोजगारीका लागि छनोट प्रक्रियामा परेका तथा ‘लटरी आउट’ भएका नेपाली कामदारबारे स्पष्टिकरण जारी गरेको छ। मन्त्रालयले नेपाल र इजरायल सरकारबीच सन् २०२० मा भएको द्विपक्षीय श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्र (Long Term Auxiliary) मा नेपाली श्रमिक पठाउने प्रक्रिया जारी रहेको जनाएको छ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगार विभागले २०८१ असार ११ गते प्रकाशित विज्ञापनअनुसार आवेदन दिएका उम्मेदवारमध्ये न्यूनतम योग्यता पुगेकालाई PIBA मार्फत लटरी प्रणालीद्वारा छनोट गरिएको थियो। छनोट भएका १,१७५ नेपालीमध्ये धेरैजसो इजरायल पुगिसकेका छन् भने बाँकी क्रमशः पठाइने तयारी भइरहेको जनाइएको छ।

त्यसैगरी, PIBA को लटरीमा छनोट नभएका १,१५३ जना उम्मेदवारलाई पनि समावेश गराएर इजरायल पठाउन विभिन्न समयमा कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ। ‘लटरी आउट’ भएका उम्मेदवार तथा सरोकारवालाबाट पटक–पटक अनुरोध आएपछि मन्त्रालयले परराष्ट्र मन्त्रालय र नेपालस्थित इजरायली राजदूतावासमार्फत आवश्यक पहल अघि बढाएको उल्लेख गरिएको छ।

तर हालको श्रम सम्झौता, इजरायलको नियम तथा कार्यप्रणालीअनुसार ‘लटरी आउट’ भएका उम्मेदवारलाई सिधै पठाउने प्रक्रिया अघि बढाउन असम्भव रहेको मन्त्रालयले स्पष्ट पारेको छ। यद्यपि, आगामी दिनमा नयाँ विज्ञापन प्रकाशित भएमा उनीहरू पुनः आवेदन दिन सक्ने जानकारी PIBA बाट प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, गणतन्त्र कोरियाको EPS प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीको प्रतीक्षामा रहेका उम्मेदवारहरूको रोस्टर थप, परिवर्तन र समयावधि थप गर्नुपर्ने मागबारे पनि मन्त्रालयले कोरियाली सरकारसमक्ष पहल गरिरहेको जानकारी दिएको छ। मन्त्रालयले द्विपक्षीय श्रम समझदारीअनुसार नै प्रक्रिया अघि बढ्ने भएकाले थप माग गरिरहन आवश्यक नरहेको उल्लेख गर्दै सम्पूर्ण उम्मेदवार र सरोकारवालालाई सहयोग तथा समझदारीका लागि आग्रह गरेको छ।

सम्बन्धित समाचार