काठमाडौँ । भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद तथा गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोपमा अध्यागमन विभागले एक जापानी नागरिकलाई नियन्त्रणमा लिएको छ।
विभागका अनुसार ती जापानी नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल आएका थिए। नेपाली महिलासँग विवाह गरेपछि उनी विवाह भिसामा नेपालमा बस्दै आएका थिए। तर, आवश्यक कार्य सहमति र व्यावसायिक भिसा नलिई लामो समयदेखि गैरकानूनी रूपमा व्यवसाय सञ्चालन गरेको पाइएको विभागले जनाएको छ।
निजले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दीभुम्दी क्षेत्रमा “पिस अफ माइन्ड रेष्टुरेन्ट क्याफे” सञ्चालन गरेको र पछिल्लो चार वर्षदेखि झम्सिखेलमा “The Jhamsikhel” नामक कफी सप सञ्चालन गर्दै आएको खुलेको छ। तर, सम्बन्धित निकायमा व्यवसाय स्थानान्तरण प्रक्रिया पूरा नगरेको तथा उक्त कफी सप दर्ताविनै सञ्चालन गरेको पाइएको छ।
अध्यागमन विभागका अनुसार उनले नेपाल सरकारलाई बुझाउनुपर्ने करसमेत नतिरेको देखिएको छ। उनी लामो समयदेखि “Restaurant Owner/Coffee Roaster” का रूपमा कार्यरत रहेको र विदेशी लगानी तथा कार्य अनुमति सम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेको पाइएको हो।
नेपालको कानूनअनुसार पर्यटक वा विवाह भिसामा बसेका विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न वा काम गर्नका लागि अनिवार्य रूपमा व्यावसायिक भिसा वा कार्य अनुमति (Working Visa) लिनुपर्ने व्यवस्था छ।
विभागले भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न विदेशी नागरिकमाथि अनुसन्धान भइरहेको जनाएको छ। कानुनअनुसार यस्ता विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना, निष्कासन तथा पुनः नेपाल प्रवेशमा रोक लगाउन सकिने व्यवस्था रहेको छ।