काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकाको भविष्य सुरक्षित बनाउन महत्वपूर्ण कदम चालेको छ। त्यहाँ दर्ता भएका ६१ बालबालिकामध्ये १४ जनालाई कक्षा १० सम्म आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गर्दै विद्यालय पठाइएको छ।
महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर, विद्यालय र अभिभावकबिच त्रिपक्षीय सम्झौता गरी यो शैक्षिक कार्यक्रम सुरु गरेको हो। शुक्रबार गरिएको सम्झौतामा शिक्षा अधिकारी, विद्यालयका प्रधानाध्यापक र अभिभावकको हस्ताक्षर भएको छ।

सम्झौताअनुसार विद्यार्थीहरु आइतबारदेखि १० वटा प्याब्सन र ३ वटा एनप्याब्सन विद्यालयमा अध्ययन सुरु गर्नेछन्। उनीहरुलाई निःशुल्क शिक्षा, आवासीय सुविधा र शैक्षिक सहयोग उपलब्ध गराइनेछ।
कार्यवाहक प्रमुख डंगोलले बालबालिकाको “पढ्न पाउने अधिकार नै प्राथमिकता” भएको बताउँदै उनीहरुको सपना पूरा गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा बालबालिकाले डाक्टर, शिक्षक, प्रहरी, सैनिक, खेलाडी र नृत्यकार बन्ने सपना व्यक्त गरेका थिए।

विद्यालय प्रतिनिधि, प्याब्सन/एनप्याब्सनका पदाधिकारी तथा अभिभावकहरुले यो कार्यक्रमलाई “शैक्षिक मात्र होइन, मानवीय सेवा” भन्दै प्रशंसा गरेका छन्। अभिभावकहरुले आफ्ना बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाउने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।
You must be logged in to post a comment.