खाडी क्षेत्रमा बढ्दो तनाव र द्वन्द्व भइरहेका बेला पनि नेपाली कामदारहरूको रोजगारीको यात्रा रोकिएको छैन ।नेपाल सरकारले केही गन्तव्यका लागि नयाँ श्रम स्वीकृतिमा कडाइ तथा अस्थायी रोक लगाए पनि पुरानै काममा फर्किने (पुनः श्रम स्वीकृति लिने) नेपालीहरूको संख्या भने उच्च रहेको तथ्यांकले देखाएको छ।
वैदेशिक रोजगार विभागको चैत २०८२ को प्रतिवेदनअनुसार कुल ६१ हजार ८१९ जना ले श्रम स्वीकृति लिएका छन्। तीमध्ये सबैभन्दा ठूलो हिस्सा ४१ हजार २७४ जना पुनः श्रम स्वीकृति लिएर पुरानै गन्तव्यतर्फ फर्किएका हुन्।
गन्तव्यका हिसाबले हेर्दा मलेसिया नेपाली कामदारको प्रमुख रोजाइ बनेको छ, जहाँ यस अवधिमा १८ हजार ६४९ जना पुगेका छन्। त्यसपछि खाडी क्षेत्रका देशहरूमा पनि उल्लेखनीय संख्या देखिएको छ—संयुक्त अरब इमिरेट्स -यूएई_ मा ११ हजार ४६३ जना, कतार मा ८ हजार ९५९ जना र साउदी अरब मा ८ हजार ९२० जना नेपाली कामदार पुगेका छन्। मलेशिया बाहेक यि सबै देशहरुमा पूनःश्रम स्वीकृति लिई श्रमिक पुगेका हुन् ।
विशेषगरी खाडी क्षेत्रमा सुरक्षा चुनौती र अनिश्चितताको अवस्था हुँदाहुँदै पनि नेपालीहरू त्यहाँ फर्किनु आर्थिक बाध्यता र रोजगारीको अभावसँग जोडिएको देखिन्छ। नयाँ कामदार पठाउने प्रक्रिया प्रभावित भए पनि पहिलेदेखि कार्यरत श्रमिकहरू बिदा सकेर पुनः काममा फर्किन बाध्य भएका छन्।
खाडीको द्वन्द्वयता नयाँ श्रम स्वीकृति ति मुलुकहरुका लागि जारी गरिएको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले भिसा प्राप्त ७ हजार ८८८ श्रमिकलाई तत्काल अन्तिम श्रम स्वीकृति दिन माग गरेको छ । पूनः श्रम स्वीकृति दिदाँ भिसा प्राप्त गरेका श्रमिकहरुलाई रोक्नु पर्ने कारण नरहेको संघको भनाई छ ।