दक्षिण कोरियामा दक्ष नेपाली कामदारलाई ई–७ भिसा श्रेणीअन्तर्गत रोजगारीका लागि पठाउने प्रक्रिया अघि बढेको छ। नेपाली राजदूतावास, सोलले १२ अगस्ट २०२६ देखि ई–७ भिसा अन्तर्गत दक्ष कामदारको मागपत्र प्रमाणीकरण प्रक्रिया सुरु गरेको हो।
राजदूतावासले जारी गरेको सूचनाअनुसार इच्छुक कोरियाली रोजगारदाताले दक्ष नेपाली कामदारको मागपत्र दूतावासको अनलाइन प्रणालीमार्फत प्रमाणीकरणका लागि पेश गर्न सक्नेछन्। रोजगारदाताले आफैं, अधिकृत प्रतिनिधिमार्फत वा विधिवत् अधिकृत भर्ती एजेन्सीमार्फत मागपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, नेपाली कामदार छनोटका क्रममा आवश्यक भाषा दक्षता परीक्षण, पेशागत सीप परीक्षण, मूल्याङ्कन तथा प्रमाणपत्रसम्बन्धी प्रक्रिया निःशुल्क रूपमा सञ्चालन गर्ने प्रतिबद्धता रोजगारदाताले गर्नुपर्ने व्यवस्था गरिएको छ।
मागपत्र प्रमाणीकरणका लागि रोजगार सम्झौता, कामको विवरण, रोजगारदाता तथा भर्ती एजेन्सीका दर्ता प्रमाणपत्र, अधिकारपत्र वा दुई पक्षबीचको सम्झौता, स्वास्थ्य परीक्षणसम्बन्धी कागजात तथा भाषा र सीप परीक्षण निःशुल्क गर्ने प्रतिबद्धतापत्रलगायतका कागजात आवश्यक पर्नेछ।
ई–७ अन्तर्गत कामदार भर्ती गर्दा कोरियाली रोजगारदाताले नेपाली भर्ती कम्पनीलाई कुनै पनि भर्ती सेवा शुल्क वा भर्ती शुल्क तिर्नुनपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित अन्तरपक्षीय भर्ती सम्झौतामा कामदारको भर्ती तथा प्रेषणका लागि कोरियाली रोजगारदाताले नेपाली भर्ती एजेन्सीलाई कुनै पनि भर्ती सेवा शुल्क नतिर्ने स्पष्ट उल्लेख गरिएको छ। रोजगारीमा पठाएवापतको सेवा शुल्क अब वैदेशिक रोजगार व्यवसायीहरुले श्रमिकबाट नै लिनुपर्नेछ ।
ई–७ भिसा दक्षिण कोरियाले दक्ष तथा सीपयुक्त विदेशी कामदारलाई रोजगारीका लागि प्रदान गर्ने भिसा श्रेणी हो। यसअन्तर्गत निश्चित सीप, योग्यता र रोजगारीका आवश्यकताअनुसार विदेशी कामदारलाई कोरियामा रोजगारीका लागि लैजान सकिन्छ। नेपालबाट ई–७ अन्तर्गत दक्ष कामदार पठाउने प्रक्रियामा अब कोरियाली रोजगारदाताको मागपत्र प्रमाणीकरणको प्रक्रिया सुरु भएको छ। यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सरकारले नै नेपाली श्रमिकहरुलाई दक्षिण कोरिया पठाउदै आएको थियो।