भारतबाट उडान गराउने १५९ म्यानपावर कारबाहीमा, ४३९ लाई चेतावनी

वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरी नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ। साथै, विभागले मागेको उडानसम्बन्धी विवरण उपलब्ध नगराउने ४३९ वटा कम्पनीलाई पनि पहिलो पटक चेतावनी दिएको छ। भारतबाट उडाउँदा हवाई टिकट झन्डै आधा सस्तो पर्ने भएकाले धेरै म्यानपावरले त्यही बाटो रोज्दै आएका थिए।

विभागका अनुसार २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको उडान विवरण मागिएको थियो। सञ्चालनमा रहेका १,११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्र विवरण बुझाएका थिए। अध्ययनका क्रममा १५९ कम्पनीले विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको हो।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन गरेको ठहर गर्दै ती १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराउने कारबाही गरेको जनाएको छ।

त्यस्तै, विभागको निर्देशनअनुसार आवश्यक विवरण नबुझाउने ४३९ कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको भन्दै पहिलो पटक चेतावनी दिइएको छ। विभागले ती कम्पनीलाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन पुनः निर्देशनसमेत दिएको छ।

विभागले वैदेशिक रोजगार प्रक्रियामा कानुनी व्यवस्था पालना गर्न र स्वदेशी विमानस्थल प्रयोगसम्बन्धी प्रावधानको पूर्ण कार्यान्वयन गर्न सबै इजाजतप्राप्त संस्थालाई आग्रह गरेको छ।

सम्बन्धित समाचार