२०८२ मंसिर महिनामा छुट्टीमा आई फर्कनेसमेत गरी ६५ हजार ७०५ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा ५८ हजार ०८३ पुरुष र ७ हजार ६२२ महिलाले श्रम स्वीकृति लिएका हुन हुन्।
देशगत रूपमा हेर्दा साउदी अरेबिया नेपाली श्रमिकका लागि सबैभन्दा ठूलो गन्तव्य बनेको छ। मंसिर महिनामा साउदी अरेबियातर्फ १४ हजार ३३० जना नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतार (१२ हजार ९८६), संयुक्त अरब इमिरेट्स–यूएई (९ हजार ३८२) र मलेसिया (९ हजार ०७३) प्रमुख गन्तव्यका रूपमा रहेका छन्।
यस अवधिमा जापान, रोमानिया, कुवेत, ओमान र बहराइन जस्ता देशहरूतर्फ पनि उल्लेख्य संख्यामा श्रमिक गएका छन्, जसले पछिल्ला वर्षहरूमा परम्परागत खाडी मुलुकबाहेक अन्य गन्तव्यप्रति पनि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको देखाउँछ।
जिल्लागत तथ्यांकअनुसार भक्तपुर, मोरङ, चितवन, कञ्चनपुर, सप्तरी, पर्सा र काठमाडौं जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ। यसले शहरी तथा अर्ध–शहरी क्षेत्रबाट वैदेशिक रोजगारीको प्रवाह अझै उच्च रहेको संकेत गर्दछ।
विशेषगरी पुनःप्रवेश (Re-entry) श्रेणीअन्तर्गत जाने श्रमिकको संख्या पनि उल्लेख्य रहेकाले वैदेशिक रोजगारीलाई निरन्तर रोजगारीको माध्यमका रूपमा लिने प्रवृत्ति अझै बलियो रहेको देखिन्छ। स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीप्रति निर्भरता कायमै रहेको छ।