सचिन र भावना लाई एनआरएनएद्धारा एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति

कपिलवस्तुका सचिन कुमार प्रजापति र चितवनका भावना रेग्मी लाई गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसियन इन्टरनेशनल युनिभर्सिटी (एआईयू) को सहकार्यमा पूर्ण एमबीबीएस छात्रवृत्ति प्रदान गरिने भएको छ।

आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम यी विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको Common Entrance Exam (CEE) २०८२ मा उत्तीर्ण भएर एनआरएनए र एआईयूद्वारा आयोजित छात्रवृत्ति प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल, भोजन, भिसा, बीमा तथा नेपाल–उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन पूरा भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एआईयूले व्यहोर्ने व्यवस्था गरिएको छ। अध्ययन अवधिमा कुनै पनि परीक्षामा असफल भएमा छात्रवृत्ति स्वतः रद्द हुनेछ।

छात्रवृत्ति कार्यक्रम गत मार्चमा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा सम्मेलनका अवसरमा एनआरएनए र एआईयूबीच भएको समझदारीअनुसार कार्यान्वयनमा आएको हो।

सम्बन्धित समाचार