काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुवई जान काठमाडौंबाट दिल्ली उडेका उदयपुरका गंगाबहादुर दर्नाल इन्डीगो एयरलाइन्सको गम्भीर लापरवाहीका कारण चार महिनाभन्दा बढी समय भारतको दिल्लीमा बेवारिसे अवस्थामा अलपत्र परेको गम्भीर घटना सार्वजनिक भएको छ। एयरलाइन्सले यात्रुलाई अस्पताल पुर्याएको दाबी गरे पनि त्यसपछि उनको अवस्था, सुरक्षा र भविष्यप्रति कुनै जिम्मेवारी नलिएको पीडित पक्षको आरोप छ।

काठमाडौंबाट इन्डीगो एयरलाइन्सको उडानमार्फत दिल्ली हुँदै दुवई जाने क्रममा विमानभित्र अचानक असहज महसुस गर्दै दर्नाल कराउन थालेपछि एयरलाइन्सले उनलाई गन्तव्य दुवई नपुर्याई दिल्लीमै उतारेको थियो। इन्डीगो एयरलाइन्सले दर्नाललाई दिल्लीस्थित सफदरजंग अस्पताल पुर्याइएको जनाएको भए पनि, त्यसपछि उनी कहाँ गए, कस्तो अवस्थामा थिए र कसको जिम्मामा थिए भन्ने विषयमा एयरलाइन्स पूर्ण रूपमा मौन रह्यो।
अस्पताल पुर्याएपछि सम्पर्क विच्छेद
दर्नाल दुवई नपुगेको जानकारी पाएलगत्तै काठमाडौंबस्थित सम्बन्धित मेनपावर कम्पनीले इन्डीगो एयरलाइन्ससँग पटक–पटक सम्पर्क गरेको थियो। तर एयरलाइन्सको जवाफ सधैं एउटै रह्यो— “यात्रु बिरामी भएपछि अस्पताल पुर्याइएको हो।”
एयरलाइन्सले न त मेनपावर कम्पनीलाई यात्रुको स्वास्थ्य अवस्था, अस्पतालबाट डिस्चार्ज प्रक्रिया, सुरक्षाको व्यवस्था वा पुनः डिपोर्टसम्बन्धी कुनै जानकारी दियो, न त औपचारिक समन्वय नै गर्यो। अस्पतालबाट डिस्चार्ज भएपछि दर्नाल कहाँ गए भन्ने विषयमा कुनै खोजी वा चासो नदेखाइँदा उनी करिब चार महिना दिल्लीका सडकमा मानसिक तथा शारीरिक रूपमा कमजोर अवस्थामा बेवारिसे जीवन बिताउन बाध्य भएका थिए।

आफन्त र मेनपावरको प्रयासपछि उद्धार
दुवई जान हिँडेका श्रीमान सम्पर्कविहीन बनेको जानकारी पाएपछि दर्नालकी श्रीमती तेजकुमारी दर्नालले मेनपावर कम्पनीलाई जानकारी गराइन्। त्यसपछि मेनपावरले आफन्तहरूसँग समन्वय गर्दै दिल्लीस्थित नेपाली दूतावास, अस्पतालहरू, स्थानीय निकाय तथा सम्भावित स्थानहरूमा निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो।
खोजी कार्यका क्रममा मेनपावर कम्पनीले आफन्तहरूलाई भारत आउन–जानको टिकट, बसोबास तथा खानपानको समेत व्यवस्था गरेको परिवारको भनाइ छ। लामो समयको खोजीपछि करिब चार महिनापछि दर्नाल दिल्लीमै फेला परेका थिए। त्यसपछि मेनपावर कम्पनीले सम्पूर्ण खर्च बेहोरेर उनलाई सडक मार्ग हुँदै सुरक्षित रूपमा उदयपुरस्थित घरसम्म पुर्याएको जनाएको छ।
स्वास्थ्य अवस्था चिन्ताजनक
चार महिनासम्मको बेवारिसे जीवनका कारण गंगाबहादुर दर्नालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। हाल उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत छन्। स्थानीय संघसंस्थाको सहयोगमा उपचार भइरहेको भए पनि उनी शारीरिक रूपमा अत्यन्त कमजोर अवस्थामा पुगेका छन्।
टिचिङ अस्पतालमै गरिएको कुराकानीमा उनकी श्रीमती तेजकुमारी दर्नालले भनिन्,
“विमानभित्र करायो भनेर अस्पताल पुर्याएर छोडिदिनु मात्रै एयरलाइन्सको जिम्मेवारी होइन। दुवई लैजान नसक्ने अवस्था भए नेपाल डिपोर्ट गर्नुपर्थ्यो, या कम्तीमा आफन्त, मेनपावर वा नेपाली दूतावासको जिम्मामा दिनुपर्ने थियो।”
कानुनी र नैतिक दायित्व उल्लंघन
हवाई यात्रामा एकपटक यात्रु विमान चढिसकेपछि, उहाँलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने वा वैकल्पिक व्यवस्थासहित जिम्मेवार निकायको जिम्मा लगाउने दायित्व एयरलाइन्सकै हुने कानुनी व्यवस्था छ। तर यस घटनामा इन्डीगो एयरलाइन्सले त्यो दायित्व पूरा नगरेको पीडित पक्षको आरोप छ। साथै, इन्डीगोको आधिकारिक टिकट एजेन्ट प्रेसिडेन्सियल ट्राभल्सले समेत आवश्यक समन्वय नगरेको गुनासो गरिएको छ।
एयरलाइन्स र ट्राभल एजेन्सी दुवैको गैरजिम्मेवारीका कारण एक साधारण नेपाली श्रमिकको जीवन नै जोखिममा परेको भन्दै घटनाको निष्पक्ष छानबिनको माग उठेको छ।
कारबाही र क्षतिपूर्तिको माग
मेनपावर कम्पनीका अनुसार, “इन्डीगो एयरलाइन्सले समयमै सही सूचना र समन्वय नगरेका कारण अवस्था जटिल बनेको हो।”
घटनापछि सरोकारवाला पक्षहरूले सरकारसँग इन्डीगो एयरलाइन्स र यसको आधिकारिक एजेन्ट प्रेसिडेन्सियल ट्राभल्समाथि छानबिन तथा कारबाही गर्नुपर्ने, साथै पीडित गंगाबहादुर दर्नाललाई उपचार खर्च र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
यस घटनाले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको यात्रासँग जोडिएको सुरक्षाको गम्भीर प्रश्न उठाएको छ।
You must be logged in to post a comment.