गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्न परराष्ट्रमन्त्री बालानन्द शर्माले सुझाव दिएका छन्। २०२६ फेब्रुअरी २३–२५ सम्म काठमाडौंमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका विषयमा एनआरएनए नेतृत्वसँग भएको भेटमा उनले विधान पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
परराष्ट्र मन्त्रालयमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा गएको एनआरएनएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले नेपालमै भौतिक रूपमा महाधिवेशन आयोजना गर्दा धेरै सकारात्मक पक्ष हुने बताए। तर संघको विधानले व्यवस्था गरेको प्रक्रिया अवलम्बन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “नेपालमै गर्नु राम्रो हुन्छ, तर विधानअनुसार हुनुपर्छ। नेपाल आउन नसक्ने सदस्यहरू मतदानबाट वञ्चित हुनु हुँदैन।”
संघको २००३ (२०२२) मा संशोधित विधानको धारा १४ मा महाधिवेशन तथा साधारण सभा अनलाइन वा भौतिक रूपमा गर्न सकिने र भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूलाई अनलाइनमार्फत सहभागिता र मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
यसैबीच, एनआरएनएका प्रतिनिधिमण्डलले १२औँ महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीसँग अनुरोध गरेको छ। प्रचलित व्यवस्थाअनुसार एनआरएनए महाधिवेशनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा नेपाल सरकारको उच्चस्तरीय आयोजक समिति गठन हुने व्यवस्था छ।
भेटमा अध्यक्ष महेश श्रेष्ठले बृहत् एकतापछि आयोजना हुन लागेको महाधिवेशनमार्फत संघको एकता बलियो बनाउने प्रयास भइरहेको जानकारी दिए। साथै, परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको एनआरएन ऐनको विधेयकमा संघ र मन्त्रालयबीच सहकार्य गर्दै आवश्यक परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि सहजीकरण आवश्यक रहेको बताए। नागरिकता जारी भइसके पनि कानुनी अस्पष्टताका कारण अधिकार प्रयोगमा कठिनाइ भइरहेको उनको भनाइ थियो।
भेटका क्रममा पूर्व अध्यक्ष विनोद कुँवरले नागरिकता कार्यान्वयन नहुँदा देखिएका समस्याबारे जानकारी दिए। पूर्व अध्यक्ष आर.के. शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्ने समस्याका सन्दर्भमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासमा कानुन विज्ञको व्यवस्था गर्न माग गरे। महिला उपाध्यक्ष रोजिना प्रधान राईले विदेशमा रहेका महिलाहरूले सामना गर्ने समस्याका समाधानका लागि विशेष नीति आवश्यक रहेको बताइन्।