रोजगारी खोज्दै एकै वर्षमा विदेशिए ८ लाख ३९ हजार नेपाली

आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन्, जुन एकै वर्षमा श्रम स्वीकृति लिएको मध्ये हालसम्मकै सबैभन्दा ठूलो संख्या हो।

श्रम स्वीकृति पाउनेमध्ये ७ लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। यो संख्याले विदेश जाने नेपाली श्रमिकहरूको आकर्षण अझ तीव्र बनेको देखाउँछ। विशेषगरी नयाँ श्रमिक मात्र होइन, पहिले काम गरिसकेका श्रमिकहरू पनि दोहोरिएर फर्किएका छन्।

विभागका अनुसार, पुनः श्रम स्वीकृति (Re-entry) लिनेहरूको संख्या कुलको ३९.७२ प्रतिशत छ भने नयाँ श्रमिकको अनुपात ६०.२८ प्रतिशत रहेको छ।

वैदेशिक रोजगारका लागि गएका श्रमिकहरूको गन्तव्य विविध छन्। गत वर्ष सबैभन्दा धेरै श्रमिक UAE, साउदी अरब, कतार, मलेसिया, रोमानिया, जापान, बहराइन, क्रोएशिया, कोरिया गणराज्य र कुवेत गएका छन्। यसमध्ये व्यक्तिगत श्रम स्वीकृतिमा नयाँ गन्तव्य देशका रूपमा रोमानिया, जापान, माल्दिभ्स, सेर्बिया, मौरिसस र माल्टा प्रमुख छन्।

सन् २०२४ सम्म वैदेशिक रोजगारीमा पुनः जाने श्रमिकहरूले पनि यिनै देशहरू रोजेका छन्। कतार, साउदी, युएई, मलेसिया, कुवेत, रोमानिया र जापानमा पुनः जानेको संख्या उच्च छ।
विभागको तथ्यांक अनुसार, विगत ५ वर्षमा कुल ३५ लाख १६ हजार ९६५ नेपालीले श्रम स्वीकृति लिएका छन्, जसमा पुरुष ३१ लाख ८१ हजार १ सय ९१ र महिला ३ लाख ३५ हजार ७ सय ७४ जना रहेका छन्।

यसबीच, वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरूलाई पठाउन सबैभन्दा बढी सक्रिय १० म्यानपावर कम्पनीहरूको नाम पनि विभागले सार्वजनिक गरेको छ।

१. नील कमल ह्युमन रिसोर्सेस प्रा.लि.
२. प्याराडाइज इन्टरनेसनल प्रा.लि.
३. एसओएस म्यानपावर सर्भिसेस प्रा.लि.
४. लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिसेस प्रा.लि.
५. गल्फ म्यानपावर सर्भिसेस प्रा.लि.
६. एयर किङ्स प्लेसमेन्ट प्रा.लि.
७. साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.
८. द रिभर ओभरसिज प्रा.लि.
९. एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्स प्रा.लि.
१०. एशिया लिंक सर्भिसेस प्रा.लि.

विभागका अनुसार हालसम्म १,६८७ म्यानपावर कम्पनी दर्ता भएका छन्, जसमध्ये ७२५ मात्र सक्रिय छन्। आर्थिक वर्ष २०८१/८२ मा २१२ संस्थाले नविकरण गरेका छन् भने ३२६ कम्पनीले एक वर्षमा १०० भन्दा कम श्रमिक विदेश पठाएका छन् ।

श्रम स्वीकृति प्रक्रियालाई सरल, पारदर्शी र द्रुत बनाउन विभागले “Work Permit on the Same Day” अर्थात् उही दिन श्रम स्वीकृति दिने प्रणाली लागू गरेको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले बताउनु भयो । अब श्रमिकले अनलाइन फारम सही तरिकाले पेश गरेपछि २ मिनेटभन्दा कम समयमै श्रम स्वीकृति प्राप्त गर्न सक्ने अवस्था बनेको उहाँको भनाइ छ।

सम्बन्धित समाचार