वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी तथा गुनासोको सुनुवाइलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन उजुरी तथा सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको विभागले मंगलबार उक्त प्रणालीको शुभारम्भ भएको जानकारी दिएको हो। अब वैदेशिक रोजगारीका क्रममा पीडित भएका व्यक्ति वा उनका परिवारका सदस्यले प्रमाणसहित अनलाइन माध्यमबाटै (ujuri.dofe.gov.np) उजुरी दर्ता गर्न सक्नेछन्।
विभागका अनुसार वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, सम्झौताअनुसारको काम, तलब वा सेवा–सुविधा नदिएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ प्रणाली लागू भएपछि उजुरी व्यवस्थापन प्रक्रिया थप छिटो, सरल, पारदर्शी र पीडितमैत्री बन्ने विभागको विश्वास छ। साथै उजुरीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई इमेल तथा एसएमएसमार्फत जानकारी दिइने व्यवस्था पनि गरिएको छ।
विभागका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारसम्बन्धी अधिकांश उजुरी जिल्ला प्रशासन कार्यालयबाटै दर्ता तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन सकिनेछ। यसले काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने र सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
गम्भीर प्रकृतिका तथा अनुसन्धान आवश्यक पर्ने मुद्दाको कारबाही भने वैदेशिक रोजगार विभागबाटै अघि बढाइने जनाइएको छ।