नेपाल हस्तकला व्यवसायी महासंघले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको जनाएको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफलमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएको अनुभूति भएको उल्लेख गर्दै व्यवसाय प्रवर्द्धनका लागि सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, परम्परागत कला संरक्षण, रोजगारी सिर्जना तथा हस्तकला सीपलाई पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
महासंघले निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने माग राखेकोमा प्रधानमन्त्री शाहले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। साथै, हाल महासंघले आफ्नै पहलमा मंसिर २८ गते मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउनुपर्ने मागमा पनि उहाँ सहमत देखिनुभयो। यस सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न प्रधानमन्त्रीले आफ्नो टोलीलाई निर्देशन दिनुभएको छ।
हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको मूल्यांकनको सट्टा बिजक मूल्यांकन प्रणाली लागू गर्ने सुझाव कार्यान्वयन गरिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो। साथै, हस्तकला सामग्री निर्यात गर्दा प्राप्त हुने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयलाई पुनः निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
उद्योग विभाग परिसरमा निर्माण सम्पन्न सार्क हस्तकला विकास केन्द्रको भवनमा हाल कम्पनी रजिस्ट्रार कार्यालय सञ्चालन भइरहेको भन्दै उक्त भवन हस्तकला क्षेत्रकै उपयोगमा फर्काउनुपर्ने महासंघको मागमा पनि प्रधानमन्त्री शाहले सकारात्मक आश्वासन दिनुभएको छ।
यसैगरी, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने, सातै प्रदेशमा हस्तकला सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तथा निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माणका लागि सहकार्य गर्ने विषयमा पनि प्रधानमन्त्री शाहले विशेष चासो व्यक्त गर्नुभएको छ।
महासंघले परम्परागत हस्तकला संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायत विभिन्न मागसमेत प्रस्तुत गरेको थियो।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।