फुटवेयर उद्योगबाट २० हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धता

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपाल (एफएमएएन)ले आगामी दिनमा १८ देखि २० हजार जनालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र एफएमएएनका पदाधिकारीबीच बिहीबार भएको भेटघाटमा नेपाली युवाका लागि सीप विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा फुटवेयर उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको हो।

छलफलका क्रममा फुटवेयर उद्योगका लागि आवश्यक सीपयुक्त जनशक्ति निर्माण, विगतका सीप तथा रोजगार कार्यक्रमबाट प्राप्त अनुभव र भविष्यमा सरकार तथा निजी क्षेत्रबीच सहकार्य गर्न सकिने क्षेत्रबारे विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री यादवले सरकारको ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाइने बताएका थिए। उनले सीप विकासमा सरकार र रोजगारी सिर्जनामा निजी क्षेत्रबीचको साझेदारीलाई अझ सुदृढ बनाइने उल्लेख गरे।

एफएमएएनका प्रतिनिधिहरूले फुटवेयर उद्योग विस्तारसँगै १८ देखि २० हजार जनासम्मलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। छलफलमा स्वदेशमै रोजगारीका अवसर विस्तार गर्दै युवालाई देशभित्रै रोजगारीमा आकर्षित गर्न सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्ने र निजी क्षेत्रले रोजगारी सिर्जना गर्ने साझा अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार